बागलुङ । अविरल वर्षाका कारण बागलुङ जिल्लाका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट हालसम्म १४ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पहिरोमा परी मृत्यु हुनेमा ५ पुरुष, ६ महिला र ३ बालबालिका गरी १४ जना रहेका छन्। त्यस्तै, एक महिला बेपत्ता रहेको प्रहरीले जनाएको छ।
विपद्बाट जिल्लामा ठूलो भौतिक क्षतिसमेत भएको छ। हालसम्मको विवरणअनुसार ५१ घर पूर्ण र ५१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै, १० गोठ पूर्ण र एक गोठ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
त्यसैगरी ३ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने प्रहरी कार्यालय २ वटा, हाइड्रोपावर २ वटा र विद्यालय एक वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। एक वडा कार्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा पूर्ण क्षति पुगेको प्रहरीको विवरणमा उल्लेख छ।
बाढीपहिरोबाट २८६ वटा पशुचौपाया र १९५ वटा कुखुरा समेत क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रहरीका अनुसार क्षतिको थप विवरण संकलन तथा उद्धार कार्य जारी रहेकाले क्षतिको विवरण अझै बढ्न सक्नेछ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार थप विवरण तथा उद्धार कार्य सम्पन्न भएपछि जानकारी गराइने जनाइएको छ।
