झापाको बिर्तामोडमा एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असोज १२ गते राति करिब साढे १० बजे बिर्तामोड नगरपालिका–५ मा डेरामा बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका रायले पेट्रोलसमेत बोकेर रविनाको कोठामा प्रवेश गरी तन्ना च्याती उनको हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेर रायलाई नियन्त्रणमा लिएको हो।
घटनामा घाइते रविना मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको छ। पक्राउ परेका रायमाथि घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
