देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने १ सय १४ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । रौतहट, सिरहा, सप्तरी, चितवन, तनहुँ र रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।
प्रहरीका अनुसार रौतहटको कटहरिया नगरपालिका–१ भसेडवामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय सुमन राय यादवको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी २४ वर्षीया श्रीमती मनीषा देवी घाइते भएकी थिइन् । उपचारका क्रममा वीरगञ्जस्थित एनएमसी अस्पतालमा चिकित्सकले सुमनलाई मृत घोषणा गरेका थिए ।
त्यस्तै, सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित महेन्द्र राजमार्गमा बसको ठक्करबाट पैदलयात्री ३५ वर्षीय विवेक बलम्पाकी मगरको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१० श्यामपुरका मगरलाई बसले ठक्कर दिएको थियो । घाइते उनको उपचारका क्रममा विराटनगरस्थित प्राइम अस्पतालमा मृत्यु भएको हो ।
सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनाचोकस्थित महेन्द्र राजमार्गमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक २२ वर्षीय विशान्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय विजय चौधरी घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि अस्पताल लगिएकामा चालक विशान्तलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा ट्रकको ठक्करबाट स्कुटर चालक ५७ वर्षीय भक्तबहादुर गुरुङको मृत्यु भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ देउपुर निवासी गुरुङलाई ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । उपचारका क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उनको मृत्यु भएको हो ।
यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पञ्चमुनीचोकमा स्कार्पियोको ठक्करबाट ३६ वर्षीया सबिना गुरुङको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–४ घाँसेपानी निवासी गुरुङलाई ठक्कर दिँदा घाइते भएकी थिइन् । उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो ।
रुपन्देहीको देवदह नगरपालिका–६ मिलनचोकमा पहिचान नखुलेको हाइलक्स वा पिकअप गाडीको ठक्करबाट ८२ वर्षीय बुद्धिप्रसाद पोखरेलको मृत्यु भएको छ । घाइते पोखरेललाई उपचारका लागि देवदह मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ पुष्पलालपार्कमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक ३३ वर्षीय मिलन न्यौपानेको मृत्यु भएको छ । घाइते न्यौपानेको उपचारका क्रममा भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा मृत्यु भएको विवरणमा उल्लेख छ ।
यस्तै गुल्मीको इस्मा गाउँपालिका–६ आपलायस्थित सडकमा ट्र्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भएको छ । बिहीबार साँझ करिब ५ बजे लु २ त ६१९४ नम्बरको खाली ट्र्याक्टरले पैदलयात्री मानबहादुर खत्रीका छोरा कुज्जन खत्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै, सल्यानको बागचौर नगरपालिका–१० माथिल्लो मोखोलास्थित सडकमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब १ः३० बजे रा १ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको थियो । दुर्घटनामा अटोमा सवार छत्रेश्वरी गाउँपालिका–५ सिर्बालीका ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी, रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राडगी टोलस्थित सडकमा ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् ।
बिहीबार साँझ करिब ६ः३० बजे ना २ त ४७८६ नम्बरको ट्र्याक्टर र बा.प्र.०२-०५३ प ८२०२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिण्डाका करिब ३५ वर्षीय सुभाष चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निसा खड्का घाइते भएका थिए ।
दुवैलाई उपचारका लागि वीरगञ्जस्थित ब्याधा अस्पताल लगिएकामा सुभाषलाई चिकित्सकले राति ८ः१० बजे मृत घोषणा गरेका थिए । उनकी श्रीमतीको उपचार भइरहेको छ ।
