२४ घण्टामा सडक दुर्घटनाबाट आठको ज्यान गयो

पछिल्ला २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार ललितपुरको गोदावरी-६ टिकाभैरवमा मोटरसाइकल अनियन्त्रित भई करिब ५० मिटर तल खस्दा चालक धनुषाका ४३ वर्षीय उत्तम लामाको मृत्यु भएको छ।

काठमाडौंको कीर्तिपुरमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका छ वर्षीय संगीत खानको उपचारका क्रममा मृत्यु भएको छ।

यस्तै, चन्द्रागिरिको नागढुंगामा ट्रक र मोटरसाइकल ठोक्किँदा घाइते भएका स्याङ्जाका ३२ वर्षीय अर्जुन पौडेलको पनि उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

नवलपरासी (पूर्व)को कावासोतीमा ट्रकले ठक्कर दिँदा बाटो काटिरहेका ७९ वर्षीय तुलसीप्रसाद च्वाईको घटनास्थलमै मृत्यु भएको छ।

नवलपरासी (पश्चिम)को पाल्हीनन्दनमा मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा भारतका २५ वर्षीय विजय चौहानको उपचारका क्रममा मृत्यु भएको छ।

कपिलवस्तुको शिवराजमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा १८ वर्षीय शिखर विकको ज्यान गएको छ।

कैलालीको धनगढीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा पछाडि सवार २८ वर्षीया सम्झना चौधरीको मृत्यु भएको छ।

त्यसैगरी, रुपन्देहीको सिद्धार्थनगरमा भारतीय नम्बरको ट्रेलरले ठक्कर दिँदा अन्दाजी ५० वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले सबै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Exit mobile version