अविरल वर्षाले थुनिएको मर्स्याङ्दी खुलाइँदै

अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालिएको छ ।

नदी थुनिएर बनेको तालको पानी निकास गरी नदीको बहावलाई पुरानै अवस्थामा फर्काउन काम सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उनका अनुसार धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ । उपलब्ध एक्साभेटरलगायतका उपकरण प्रयोग गरी नदी खुलाउने काम थालिएको र ठूला चट्टान हटाउनुपर्ने देखिएकाले त्यसको तयारी भइरहेको छ ।

‘पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर डुबानमा परेका छन्,’ उनले भने।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीय स्रोतसाधन प्रयोग गरेर नदीको बहाव खुलाउन सकिए स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने बताए। चट्टान विस्फोट गरी फुटाउँदा मर्स्याङ्दीको तटीय क्षेत्रमा थप जोखिम हुनसक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए।

‘एक्साभेटरले अडिएका ढुङ्गा केही हटाउन सकिए तटीय क्षेत्रमा कम क्षति पुग्नेछ,’ उनले भने।

लमजुङ हिमाललाई शिर मानिएको घट्टेखोलामा लेदोसहितका ठूला ढुङ्गा खसेपछि मर्स्याङ्दी नदी थुनिएको हो । वरपरका क्षेत्रमा क्षति नपुग्ने गरी विस्फोट गराएर चट्टान फुटाउने र नदीको बहावलाई पुरानै लयमा फर्काउने विषयमा अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

नदीको बहाव खुलाउन सके स्थानीयवासीमा देखिएको त्रास कम हुने र जनजीवन सहज बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

बाढी र पहिरोका कारण सो क्षेत्रमा विद्युत्, खानेपानी, टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएका छन् भने सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ । ङिस्याङ गाउँपालिका–४ हुम्डेमा बाढी र पहिरोका कारण आसपासका बस्तीका घरमा पानी र हिलो पसेको छ ।

सब्जे खोलाबाट सञ्चालित लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति पुगेपछि विद्युत् आपूर्ति पनि अवरुद्ध भएको छ ।

यसअघि २०७८ सालमा पनि घट्टेखोला, ठाडो खोला र मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्‍याएको थियो ।

Exit mobile version