पोखरा महानगरपालिकाका विभिन्न स्थानमा शृंखलाबद्ध रूपमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा ४ विदेशी नागरिकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाबाट २५ तोलाभन्दा बढी सुनका गरगहना, ९ वटा मोबाइल, १ वटा ल्यापटप, १ वटा स्मार्ट घडी र २ लाख १ हजार २ सय २० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले सूक्ष्म अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
‘पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बढ्दै गएका चोरीका घटनाको सूक्ष्म अनुसन्धानका क्रममा संलग्न व्यक्तिहरूलाई चोरीका सामानसहित पक्राउ गरिएको हो,’ प्रहरीले विज्ञप्तिमा जनाएको छ। ‘पक्राउ परेकाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।’
प्रहरीका अनुसार पहिलो घटना २०८३ असार १४ गते राति २ बजे पोखरा महानगरपालिका–१८ मणिपार्कस्थित हेमराज गिरीको घरमा भएको थियो। त्यहाँबाट विभिन्न किसिमका २५ तोला बराबरका सुनका गरगहना र ७० हजार रुपैयाँ नगद चोरी भएको थियो।
दोस्रो घटना २०८३ असार २४ गते राति १ बजे पोखरा–१७ छोरेपाटनस्थित शिवप्रसाद बरालको घरमा भएको थियो। त्यहाँबाट आधा तोला बराबरका सुनका गरगहना, २ लाख ५० हजार रुपैयाँ नगद, १ वटा ल्यापटप र १ वटा मोबाइल चोरी भएको थियो।
तेस्रो घटना २०८३ असार २५ गते राति २ बजे पोखरा–१८ भकुण्डेस्थित गिरीश श्रेष्ठको घरमा भएको थियो। त्यहाँबाट २ वटा मोबाइल र १ तोला ५४ लाल बराबरका सुनका गरगहना चोरी भएको थियो।
चौथो घटना २०८३ असार २३ गते राति १२ बजेर ४६ मिनेटमा पोखरा–८ ज्ञानकुञ्ज मार्गस्थित मोहसेन खातामीको कोठामा भएको थियो। त्यहाँबाट २ वटा मोबाइल र २५ हजार रुपैयाँ नगद चोरी भएको थियो।
पाँचौं घटना २०८३ असार २३ गते राति २ बजेर ३० मिनेटमा पोखरा–६ लेकसाइडस्थित हिरामणी लामिछानेको घरमा भएको थियो। त्यहाँबाट १ वटा आइफोनसहितका सामान चोरी भएको थियो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बस्ती जिल्लाको अशोकपुर निवासी २३ वर्षीय राहुल निषाद, चीनको गुइझाउ निवासी ३० वर्षीय वेन जिए, चीनको सान्दोङ निवासी ३७ वर्षीय वाङ लियानयिन, स्याङ्जाको चापाकोट नगरपालिका–३ का ४२ वर्षीय राजकुमार बिक, कास्कीको अन्नपूर्ण गाउँपालिका–७ का ५० वर्षीय राज केसी, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का २९ वर्षीय अशोक पोखरेल, भारतको महाराष्ट्रस्थित सोलापुर निवासी ४० वर्षीय सोमनाथ हनुमन्त जायभये, पोखरा महानगरपालिका–१६ का ५१ वर्षीय केशव पाइजा मगर र बागलुङ नगरपालिका–१२ का २७ वर्षीय अनिल बिक छन्।
प्रहरीले उनीहरूको साथबाट ९ वटा मोबाइल फोन, १ वटा स्मार्ट घडी, १ वटा ल्यापटप, १ दशमलव ३१४ तोला तौल भएको सुनको ब्रेसलेट, ० दशमलव ६४४ तोला तौलका ५ वटा सुनका टुक्रा, १ दशमलव २४२ तोलाको १ वटा सुनको टिका, १ दशमलव ७०३ तोलाको १ वटा सुनको टिका, १ दशमलव ०५४ तोलाको १ वटा सुनको टिका, ० दशमलव ५०५ तोलाको १ वटा सुनको टिका, ० दशमलव ४७७ तोलाको १ वटा सुनको टिका तथा २ लाख १ हजार २ सय २० रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
‘बरामद गरिएका सामान र पक्राउ परेका व्यक्तिका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ प्रहरीले जनाएको छ। ‘अनुसन्धानका क्रममा अन्य संलग्न व्यक्ति खुलेमा कानुनी दायरामा ल्याइनेछ।’
