काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी नगद तथा सुनचाँदीका गरगहना चोरी गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले माघ २१ गते बुधबार राति करिब ११:२५ बजे नागार्जुन नगरपालिका–६ पुरी गाउँस्थित सडक खण्डमा शंकास्पद अवस्थामा भेटिएका व्यक्तिलाई चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो । पक्राउका क्रममा उनले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला बाँके, नेपालगन्ज उपमहानगरपालिका–३ घर भई हाल काठमाडौंको सितापाइला बस्ने ४१ वर्षीय सुप्रिम विकाश, सौरभ चौधरी भन्ने प्रेम थारू रहेका छ्न ।
प्रहरीका अनुसार उनी यसअघि पनि २०७९ मंसिर २९ गते प्रहरी वृत्त बौद्धबाट दुईवटा चोरी कसुरमा पक्राउ परी कारागार चलान भएका थिए र तीन वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति हुन् ।
अनुसन्धानका क्रममा काठमाडौंका विभिन्न घरमा भएका चोरी घटनामा हालसम्म ९ जना पीडित सम्पर्कमा आएका छन् ।
यी घटनामा करिब ८८ तोला सुन, ९९ तोला चाँदी, २ तोला डायमण्ड तथा विभिन्न देशका मुद्रासहित करिब रु। ३,०६,१४,२०० ९तीन करोड छ लाख चौध हजार दुई सय रुपैयाँ० बराबरको चोरी भएको देखिएको प्रहरीले जनाएको छ ।
बरामद भएका सामग्रीहरू:
-सुन – ७६४.३५ ग्राम
-चाँदी – १,१५९.२६ ग्राम
-नेपाली रुपैयाँ – १,६३,६५५
-डायमण्ड – १५।२६ ग्राम
-USD 110
-भारतीय रुपैयाँ ५,५००
-चिनियाँ युआन ८२
-श्रीलङ्काली रुपैयाँ २०
-मलेसियन रिङ्गेट ३
-ओमानी रियाल १००
-कतारी रियाल १६
-थाई भाट ४०
-जापानी येन १००
-साउदी रियाल २
-हङकङ डलर १०
प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । अन्य पीडितलाई प्रहरीमा सम्पर्क आउन आग्रह गरिएको छ ।
