‘जेन जी’ आन्दोलनको फाइदा उठाउँदै कास्की जिल्ला कारागारबाट फरार भएका एक कैदी पोखरामा शृङ्खलाबद्ध चोरीमा संलग्न रहेको पाइएको छ।
कारागारबाट भागेर लुकिछिपी बस्दै आएका प्यूठान घर भई हाल पोखरा–३ नदीपुर बस्ने २४ वर्षीय सुमित थापा मगरलाई प्रहरीले पुनः पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, थापा मगर र उनका सहयोगी धादिङ घर भई पोखरा नदीपुर बस्ने २७ वर्षीय सुजन परियारलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा–९ रामघाटबाट पक्राउ गरेको हो।
चार स्थानमा चोरी गरेको खुलासा
प्रहरी अनुसन्धानका क्रममा यी दुईले पोखराका विभिन्न चार स्थानमा चोरी गरेको खुलेको छ। अभियुक्त सुमित थापा मगरले एक्लै र सुजनसँग मिलेर गरेका चोरीका घटनाहरू यस प्रकार छन्:
- पोखरा लक्ष्मी ट्रेडर्स (असोज २७): सुमितले पोखरा–१३ विपीमार्गस्थित ट्रेडर्सको काउन्टर फोडेर नगद रु. ४१ हजारसहित महत्त्वपूर्ण कागजातहरू (नागरिकता, लाइसेन्स, बिलबुक) चोरी गरेका थिए।
- आरुस स्टोर्स प्रा.लि. (मंसिर ६): पोखरा–१७ ड्यामसाइडस्थित स्टोर्सको ढोका फोडेर सुमितले नगद रु. २ लाख ७३ हजार ५ सय चोरी गरेका थिए।
- स्कुटर चोरी (मंसिर ४): दुवै जना मिलेर पोखरा–४ आदर्शमार्गबाट ग १५ प १०२० नम्बरको होन्डा डियो स्कुटर चोरी गरेका थिए।
- गाडीबाट रकम चोरी: पोखरा–८ न्युरोडस्थित एसबी वाइनसप अगाडि पार्किङ गरेको ग १ क २५९८ नम्बरको गाडीबाट नगद रु. ३५ हजार, एटिएम कार्ड र कागजात भएको झोला चोरी गरेका थिए।
अपराधिक इतिहास: ८ पटक पक्राउ
प्रहरीका अनुसार सुमित थापा मगर पेसेवर अपराधी हुन्।
उनी यसअघि अभद्र व्यवहार, चोरी उद्योग र सार्वजनिक अपराधसहित विभिन्न कसुरमा ८ पटक पक्राउ परी कारागार चलान भइसकेका थिए। उनी गत भदौ २४ गते भएको ‘जेन जी’ आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका थिए।
यस्तै, पक्राउ परेका अर्का अभियुक्त सुजन परियार पनि यसअघि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका व्यक्ति हुन्।
पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
