अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। पछिल्लो दुई दिनमा पहिरोले जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ।
आइतबार मात्रै तमानखोला र निसीखोला गाउँपालिकामा ९ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। शनिबार ताराखोलामा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही स्थानमा पहिरोले आठ घर बगाएको छ। तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ। हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता छिन्।
यस्तै, निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोरा १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान छन्। निसीखोला–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको बताए। प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ।
तनहुँका २४ घरमा क्षति लगातारको वर्षाका कारण बाढी र पहिरोले तनहुँका ६ स्थानीय तहका २४ घरमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार व्यास नगरपालिकामा ५, म्याग्देमा २, घिरिङमा ६, ऋषिङमा २, बन्दीपुरमा ४ र भानु नगरपालिकामा ५ घरमा क्षति पुगेको हो।
पिडित परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ। पहिरोले व्यास–१ स्थित राइस मिलमा क्षति पुग्दा एक सय बोरा धान भिजेको छ भने भिमाद–६ मालेबगरमा कुखुराफार्म र बंगुरको खोर बगाएको छ।
यस्तै देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकीको बाढीले शौचालय, बाथरुम र १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति बगाएको छ। इलाका प्रहरी कार्यालय देवघाटका अनुसार गुफाका ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित ठाउँमा सारिएको छ।
