बाढी पहिरोले क्षतिग्रस्त तनहुँका सडक मर्मत गर्न विपद् व्यवस्थापनको सिफारिश

गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न स्थानमा सडक, पुल तथा कल्भर्टमा क्षति पुर्‍याएपछि पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सिफारिस गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले क्षतिग्रस्त संरचनाको विवरण सङ्कलन गरी आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि सम्बन्धित कार्यालय र मन्त्रालयमा सिफारिस गरेको हो।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बाढीपहिरोबाट विशेषगरी घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिने, चिरा पर्ने, पुलको ब्याकफिलिङ बगाउने र कल्भर्टका संरचनामा क्षति पुग्ने समस्या देखिएका छन्। कतिपय स्थानमा खोलाको कटानले बस्तीसमेत जोखिममा परेका छन्।

घिरिङ गाउँपालिका–१ स्थित द्रोपती खोलाको पुलको ब्याकफिलिङ बगाउँदा पुलको दुवैतर्फ सडकसँग जोडिएको भागमा क्षति पुगेको छ। उक्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको तिवारीले बताए।

त्यस्तै, घिरिङ गाउँपालिका–३ स्थित भैरव मोटरमार्गको केही भाग भासिएको छ। सडकलाई सुरक्षित र नियमित रूपमा सञ्चालन गर्न मर्मतसम्भार आवश्यक देखिएपछि पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको छ।

घिरिङ गाउँपालिका–१ स्थित ठूलोफेदी खोलाको कटानले बस्तीमा क्षति पुग्न सक्ने जोखिम बढाएको छ। बस्ती संरक्षण तथा सम्भावित क्षति न्यूनीकरणका लागि रिटेनिङ वाल निर्माण गर्नुपर्ने भएकाले आवश्यक संरचना निर्माणका लागि पनि पूर्वाधार विकास कार्यालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए।

यसैगरी, घिरिङ गाउँपालिका–४ स्थित शालिग्राम करिडोरमा तिरन्दी खोलाको पुलको छेउमा क्षति पुगेको छ। पुलको संरचनाको सुरक्षा सुनिश्चित गर्न आवश्यक मर्मतका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ।

घिरिङ गाउँपालिका–३ स्थित गाबुडाँडा–नयाँटार सडकखण्डमा समेत चिरा परेको छ। थप क्षति हुन नदिन र सडकलाई सुरक्षित बनाउन मर्मतसम्भार तथा प्राविधिक जाँच आवश्यक देखिएको छ। उक्त सडकखण्डको मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको तिवारीले बताए।

त्यसैगरी, घिरिङ गाउँपालिका–४ स्थित तिन्दीखोला कल्भर्टको तल्लो भागमा लगाइएको जाली खोलाको बहावले बगाएको छ। कल्भर्टको संरक्षण संरचनामा क्षति पुगेपछि आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

Exit mobile version