रोल्पाको थबाङ गाउँपालिका नम्बर ५ कोटलवारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी दुई जना घाइते भएका छन् भने १० जना अझै बेपत्ता रहेका छन् ।
बुधबार राति करिब ८:४० बजे माथिबाट पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका हुन् ।
घटनाको खबर राति ९:३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । कमलबहादुर पुन मगरसहित मानिस तथा चौपाया पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।
राति ११:५५ बजे स्थानीयको समेत सहयोगमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
उनीहरूलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको प्रहरीले बताए । त्यसैगरी, १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर पहिरोमा पुरिएको अवस्थामा मृत फेला परेका छन् ।
थप उद्धारका लागि बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित ‘एसओसीओ’ समेतको १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । यस्तै, बिहान ४:३० बजे रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीसमेत घटनास्थल पुगेका छन् ।
अहिले घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ । ‘प्रारम्भिक विवरणअनुसार पहिरोमा पुरिएका मानिसको संख्या १० जना पुगेको खुलेको छ’ प्रहरीले भने । घटनास्थलमा फोन सम्पर्क हुन नसकेका कारण थप विवरण आउन बाँकी रहेको छ ।
