पोखरामा ब्राउनसुगर र डेढ लाखसहित रामप्रसाद पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट लागुऔषध ब्राउनसुगर र ठुलो परिमाणको नगद सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ८ अन्नपूर्ण मार्गबाट ४३ वर्षका राम प्रसाद आचार्यलाई पक्राउ गरेको हो ।

जिल्ला बारा निजगढ नगरपालिका वडा नम्बर ५ स्थायी घर भई हाल पोखरामा बस्दै आएका आचार्यको डेरा कोठाबाट ६ ग्राम ब्राउनसुगर बरामद भएको छ ।

आज दिउँसो पौने ३ बजेको समयमा लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले आचार्यको डेरा कोठा खानतलासी गर्दा डिजिटल तराजुले तौल गर्दा ६ ग्राम ‘ब्राउनसुगर (खैरो हिरोइन)’ जस्तो देखिने पदार्थ फेला पारेको बताए । सोही स्थानबाट प्रहरीले नगद १ लाख ५५ हजार रुपैयाँ र २ थान मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेका उनलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Exit mobile version