पोखरा । पोखरा ११ जनजागृति टोलबाट लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
हिजो (मंगलबार) साँझ करिब ४ बजे ब्राउन सुगर (खैरो हिरोइन) को कारोबार भइरहेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीको संयुक्त टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा–११ का ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा–११ बस्दै आएका ४४ वर्षीय विश्वास गुरुङ र म्याग्दी मालिका गाउँपालिका–६ स्थायी घर भई हाल पोखरा–३१ मोहरियामा बस्दै आएका ४१ वर्षीय गंगा पुर्जा रहेका छन् ।
प्रहरीले उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा २४ दशमलव १५ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ, एक थान डिजिटल तराजु, नगद १ लाख ४२ हजार रुपैयाँ र चार थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
उनीहरूलाई लागुऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
