उज्यालो चुनौतीबीच आहारारा पोखरा गोल्ड कप: भोलि फेरि ४ बजे किक–अफ

पोखरा । पोखरा रंगशालामा जारी २५औँ आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताका खेल भोलि (तेस्रो दिन) पनि दिउँसो ठीक ४ बजे नै सञ्चालन हुने भएका छन् ।

प्रतियोगिता संयोजक पूर्ण गुरुङले जानकारी दिँदै फ्लड लाइटमा देखिएको प्राविधिक समस्या अझै समाधान हुन नसकेकाले भोलिको खेल पनि दिउँसो नै खेलाइने बताएका छन् । उनले भोलि प्राविधिक टोलीले थप लाइट जडान गरेर एक पटक फेरि परीक्षण गर्ने तयारी गरेको जानकारी दिए । थपिएको लाइटबाट पनि समस्या समाधान नभए फ्लड लाइट सञ्चालनबारे अन्तिम निर्णय लिइने गुरुङले बताए ।

प्रतियोगिताको पहिलो दिन आयोजक सहारा क्लब र हङकङको गोर्खा इन्टरनेसनल क्लबबीचको खेल फ्लड लाइटमै सम्पन्न भएको थियो । तर, खेलपछि लाईटको प्रकाश कमि भएपछि दोस्रो दिनका खेलहरू दिउँसो नै खेलाइएको थियो ।

आज (दोस्रो दिन) जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा पहिलो दिन आयोजक सहारा क्लब विजयी भएको थियो भने दोस्रो दिन जावलाखेल युथ क्लब विजयी भएको छ ।

भोलि हुने खेलमा नेपाल शस्त्र प्रहरी बल (एपीएफ) क्लब र मनाङ मस्र्याङ्दी क्लब आमने–सामने हुनेछ्न । पोखरा रंगशालामा दिउँसो ४ बजे सुरु हुनेछ ।

Exit mobile version