२५औँ आहारारा पोखरा गोल्डकपमा दर्शक अन्योलः फ्लडलाईट असफल, अब बाँकी खेल ३ बजे देखि

सुरज श्रेष्ठ/पोखरा । माघ २७ गतेदेखि पोखरा रंगशालामा सुरु भएको २५औँ आहारारा पोखरा गोल्डकप अन्तर्गत फ्लडलाईट प्रयोग गर्ने महत्वाकांक्षी योजनाले पहिलो गाँसमै समस्या आएपछि दर्शक अन्योलमा परेका छन् ।

आयोजकले पहिलो दिन फ्लडलाईटमै खेल सञ्चालन गरेका थिए । तर उज्यालो पर्याप्त नदेखिएपछि दोस्रो दिन विज्ञप्ति जारी गर्दै प्राविधिक समस्या देखिएको जनाउँदै खेल दिउँसो ४ बजेबाट सञ्चालन हुने जानकारी गराइएको थियो । दोस्रो र तेस्रो दिनका खेल ४ बजे नै खेलाइए ।

यसबीच फ्लडलाईट पुनः प्रयोग गर्न सकिन्छ कि भनेर प्राविधिक टोलीसँग छलफलसमेत गरिएको थियो । तर अन्ततः फ्लडलाईटमा खेल सञ्चालन गर्न नसकिने निष्कर्षमा आयोजक पुगेको छ ।

आयोजक सहाराले अबदेखि सबै खेल दिउँसो ३ बजे किक अफ हुने र प्रतियोगिता सम्पन्न नहुँदासम्म यही समयतालिका कायम रहने जनाएको छ । यससँगै यस संस्करणमा फ्लडलाईट प्रयोग गर्ने योजना पूर्ण रूपमा स्थगित भएको छ ।

पटकपटकको समय फेरबदलले दर्शकमा अन्योल र असन्तुष्टि बढाएको छ । रंगशाला पुगेका एक दर्शकले व्यवस्थापनमा स्पष्टता र पूर्वतयारीको अभाव देखिएको टिप्पणी गरे । पोखरालाई फुटबलको उर्वरभूमि मानिए पनि पछिल्लो समय दर्शक उपस्थिति घट्दो अवस्थामा रहेकाले यस्ता कमजोरीले प्रतियोगिताको विश्वसनीयतामा असर पार्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रतियोगिता संयोजक पूर्ण गुरुङले बाँकी खेलहरू दिनको ३ बजे नै संचालन गरिने र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक समन्वय र तयारीमा ध्यान दिइने बताएका छन् ।

पोखराको फुटबल प्रतिष्ठा जोगाउन आयोजक, फुटबल संघ तथा सम्बन्धित निकायहरूले समयमै गम्भीरता देखाउनुपर्ने आवश्यकता देखिएको छ । तस्विरः बसन्त शेर्पा

Exit mobile version