कास्कीमा जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी ब्राउन सुगरसहित पुनः पक्राउ परेका छन् ।
असार १३ गते बिहान अन्दाजी २ः५० बजेको समयमा पृथ्वीराजमार्गको मजुवा खण्डमा गरिएको सवारी चेकजाँचका क्रममा ती फरार कैदी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १५ नयाँगाउँ बस्ने ३३ वर्षका नरेश गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार इलाका प्रहरी कार्यालय शिशुवा र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवास्थित सडक खण्डमा पोखरातर्फ आउँदै गरेको ग २ ख १४११ नम्बरको सार्वजनिक बसलाई चेकजाँच गर्दा बसमा सवार गुरुङको साथबाट ब्राउन सुगर जस्तो देखिने ६ ग्राम पदार्थ र १ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुरुङ लागू औषध मुद्दामा यसअघि नै २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको सजाय तोकिएका व्यक्ति हुन् ।
उनी कारागार कार्यालय कास्कीमा थुनामा रहेको समयमा ०८१ भदौ २४ गते ‘जेन्जी आन्दोलन’ को क्रममा फरार भएका थिए ।
उनलाई पक्राउ गरी बिहीबार नै कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ ।
