प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै छानबिनको माग गर्नुभएको छ ।
नेपाली कांग्रेसका गीता गुरुङले कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भनी विद्यार्थीबाट उठेका आवाजलाई सम्बोधन गरी छानबिन गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कारबाही गर्न माग गरिन् ।
सोही पार्टीका प्रमिला गच्छदारले प्रभावित विद्यार्थीहरू आन्दोलित भइरहेको बताउँदै त्यसतर्फ सरकार गम्भीर हुनुपर्छ भनिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा रानामगरले झापाको विर्तामोड नगरपालिका–३ भएर बग्ने अदुवाखोला पुलमा टिप्परले ठक्कर दिई अनुकृति चापागाइँको मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् । मृतकका परिवारलाई पीडकले धम्क्याएको घटनामा छानबिन गर्न उनले गृह प्रशासनसमक्ष अनुरो गरिन् ।
नेकपा (एमाले)का नीता घतानीले भविष्यमा सवारी चालकले लापरबाही ढङ्गले सवारी चलाउँदा हुनसक्ने घटना हुन नदिन कठोर कानुनी व्यवस्था आवश्यक भएको विचार व्यक्त गर्दै पीडित परिवारलाई उचित राहतको प्रबन्ध गर्न माग गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका श्रद्धा कुँवरक्षेत्रीले विश्वकप फुटबल जारी रहँदा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) फिफाबाट निलम्बनमा पर्नुले सम्पूर्ण नेपाली खेलाडी र खेलप्रेमी मर्माहत भएका तथा राष्ट्रको प्रतिष्ठामा आँच आएको बताइन् ।
नेकपा (एमाले)का डा अर्जुन कार्कीले सङ्खुवासभामा निर्माणाधीन प्रसारण लाइनको कामलाई रोकिन नहुने माग गरे ।
