भारतीय संसद परिसरमै धक्का मुक्की,भाजपा सांसद घाइते

नयाँ दिल्ली । भारतको संसद परिसरमा बिहीबार बिहान धक्का मुक्की हुँदा ओडिशा बालासोर क्षेत्रका भाजपा सांसद प्रताप सारंगी घाइते भएका छन्। सारंगीले कांग्रेस सांसद राहुल गांधीमाथि आरोप लगाउँदै भने, ‘राहुलले मलाई धक्का दिए, जसकारण म लडेँ र मेरो टाउकोमा चोट लाग्यो।’

भाजपाका अर्का सांसद मुकेश राजपूतले पनि राहुलमाथि उस्तै आरोप लगाएका छन्। तर, राहुलले यसलाई अस्वीकार गर्दै उल्टै भाजपाका सांसदहरूले आफूलाई धम्क्याएको र संसदभित्र जानबाट रोक्न खोजेको दाबी गरे।

बिहीबार बिहान ‘इन्डिया’ गठबन्धनका सांसदहरूले संसद परिसरमा अंबेडकरको विषयलाई लिएर गृहमन्त्री अमित शाहविरुद्ध प्रदर्शन गरिरहेका थिए। सोही क्रममा भाजपाका सांसदहरू पनि आक्रोशित हुँदै विपक्षी सांसदहरूसँग आमनेसामने भएका थिए।

प्रदर्शनका क्रममा संसद परिसरको मकरद्वार नजिकै धक्का(मुक्कीको अवस्था सिर्जना भयो। इंडिया गठबन्धनका सांसदहरूले मकरद्वारको रेलिङ चढेर अंबेडकरका पोस्टर सहित प्रदर्शन गरे। यसैबीच प्रताप सारंगी र राहुल गांधीबीच विवाद भएको बताइएको छ।

यसअघि, गृहमन्त्री शाहले राज्यसभामा संविधानको विषयमा बोलेका केही टिप्पणीलाई लिएर कांग्रेसले आलोचना गरिरहेको थियो। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले शाहमाथि अंबेडकरको अपमान गरेको आरोप लगाउँदै प्रधानमन्त्री मोदीसँग शाहलाई पदमुक्त गर्न माग गरेका थिए।

गृहमन्त्री शाहले भने, ‘अंबेडकरलाई लिएर धेरै कुरा गरिन्छ, तर सत्य र तथ्यका आधारमा मात्रै संसदमा छलफल हुनुपर्छ। कांग्रेसले पुरानै रणनीति अपनाउँदै बयानलाई तोडमरोड गरी प्रस्तुत गरिरहेको छ।’

भाजपाका महिला सांसद फाङ्गनोन कोन्याकले पनि राहुलमाथि धम्क्याउने र असभ्य व्यवहार गरेको आरोप लगाएकी छिन्। सांसदहरूबीचको यो विवादले संसदमा थप तनाबको अवस्था सिर्जना गरेको छ।एजेन्सी

Exit mobile version