सरकारलाई रविको खबरदारी ! भने -‘परिणाम दिन नसके फेरि भदौ २३ आउँछ’

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले फागुन २१ को निर्वाचनबाट पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके फेरि ‘भदौ २३’ जस्तो परिस्थिति आउन सक्ने संकेत गरेका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले काठमाडौंस्थित पर्यटन बोर्डको हलमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले युवाको नेतृत्व र राजनीतिक सहभागितामाथि प्रश्न उठ्ने अवस्था आउन नदिन आफूहरूले परिणाम देखाउनुपर्ने बताए।

पूर्वगृहमन्त्रीसमेत रहेका उनले गत वर्षको भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई स्मरण गर्दै राजनीतिक परिस्थिति रातारात बदलिन सक्ने चेतावनी पनि दिएका छन् । भदौ २३ र २४ को आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकार नराम्रोसँग पल्टिएको थियो। त्यसबेला नेताहरू हेलिकप्टरमा भाग्नुपरेको थियो भने राष्ट्रियस्तरमा इतिहासकै ठूलो विध्वंश मच्चाइएको थियो ।

त्यसकै बलामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी दुईतिहाइ नजिकको शक्तिसहित सरकारमा छ । अहिले रविकै जोडबलमा गत पुस १३ गते रास्वपामा प्रवेश गरेका वालेन्द्र शाह प्रधानमन्त्री छन् । तर वालेन्द्र नेतृत्वको सरकारले परिणाम दिन नसकेको आरोप लागिरहेका बेला रविले अर्को भदौ २३ आउन सक्ने चेतावनी दिएका हुन् ।

‘गत वर्षको भदौ २१, २२ गते त ठिकै थियो, सरकार पनि दुईतिहाइको थियो। शक्तिशाली दुई पार्टी सरकारमा थिए, कसले छुन सक्थ्यो र उनीहरूलाई ? २३ आइपुग्यो नि ओभरनाइट,’ उनले भने, ‘हामीले गलत भाष्यलाई हाम्रो कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै त्यस्तै डिलमा जान्छ, फेरि भदौ २३ आउन सक्छ।’

Exit mobile version