Skip to content
Home » नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा

नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा

  • by Naya Lipi

राजनैतिक पार्टीहरू मध्ये मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक प्रणालीलाई आफ्नो प्राण मान्ने दल, मुलुकको हरेक प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गरेको र मुलुकलाई अगाडि बढाउने महत्त्वपूर्ण जिम्मेवारी लिएको नेपाली काँग्रेसले गर्ने आन्तरिक लोकतान्त्रिक अभ्यासले राष्ट्रिय राजनीतिमा छुटै महत्त्व राख्छ । पार्टीले विभिन्न बाधा अड्चन र कोभिड-१९ को महामारीको बिचमा पनि नेपाली काँग्रेसले आफ्नो चौधौँ नियमित महाधिवेशन सम्पन्न गरी व्यवहारमै लोकतन्त्र आत्मसात् गर्ने दलका रूपमा आफूलाई उभ्याउदैछ । राजनैतिक पार्टी सम्बन्धी कानुन एवम् नियमावलीको कारण महाधिवेशन गर्नुपर्ने बाध्यतालाई समेत पुरा गर्दै यही २०७८ भाद्र-१८ गते वडा स्थानीय इकाई को अधिवेशन सुरु गर्दै विभिन्न तह, क्षेत्र र प्रदेश हुँदै आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने केन्द्रीय कार्यसमिति र नेतृत्वको निर्वाचन मार्फत छनौट गरेर समापन गर्दै छ।

राजनैतिक विधि र पद्धति नै अपचलन भएपछि युवा बर्ग मा कसरी धैर्यता आउँछ? नवयुवा हरुलाई राजनीतिमा आकर्षित गर्न युवाको रोजाई, जिम्मेवारी र भूमिकाको महत्त्वलाई ध्यान दिने वृद्ध नेतृत्व पुस्ताको मन फराकिलो हुन पर्छ। कङ्ग्रेसको राजनीतिलाई गुटबन्दी एवं पारिवारिक विरासत नै सम्झने पुस्ताको नेतृत्व राजनीतिमा हाबी रहँदासम्म नेपाली काँग्रेसमा मात्रै होइन सम्पूर्ण पार्टीहरूको पुर्ख्यौली राजनीतिमा नवयुवाहरू आकर्षित होइन विकर्षण नै भइरहने छन् । यो नेपालका सबै राजनैतिक पार्टीहरूको साझा समस्या नै बनिसकेको छ। कार्यकर्तालाई आधार मानेर पार्टी चालन भएका नेपाली वामपन्थी पार्टीहरू समेत ‘जबज’, ‘वृद्ध भत्ता’,’ जनयुद्ध’ र ‘सहिद’ को चर्का नारा बाहेक नयाँ कार्यक्रम नगरी गुटबन्दी, भ्रष्टाचार मा ऐतिहासिक उच्च बिन्दु कायम गरी देश विकास कम ‘राष्ट्रिय ऋण’ उच्च बनाउँदै लगेर देश नै बन्धक रहने वातावरण निर्माण भएको छ। आफूलाई क्रान्तिकारी हौ भन्ने वामपन्थी पार्टी नेतृत्वको परम्परागत सोच, परिवारवाद, प्रतिशोध एव चरम गुटबन्दीको अभ्यासको कारण पार्टी गुटै गुट र चिराचिरै पर्दै अधोगतिको मार्गमा यात्रा गर्दै अस्तित्व अन्त्यको पथमा हिँड्दै गरेको छ। पार्टीका दोस्रो र युवा पुस्ता भने पार्टी भित्र आन्तरिक सङ्घर्ष गर्न नसकेर समर्पणवादलाई अँगाल्दै आफ्नो अस्तित्व कायम राखेको देखिन्छ।

नेपाली काँग्रेसले पार्टी सञ्चालनमा आफ्नो नीति र विधिलाई प्रधान बनाउन सक्यो भने मात्र आम नेता कार्यकर्ता एक भइ पार्टी बलियो हुनसक्छ र हुन्छ पनि । तर काँग्रेसले आफ्नो मूल नीति र एजेन्डा छाडेका कारण नेपालमा राजनीतिको गलत अभ्यास सुरुवात भयो । बि. सं. २०४६ साल यता पार्टी नेता प्रधान भएको त्यसपछिका विभिन्न समयमा घटेका घटना एवं नेतृत्व हत्याउने क्रममा पार्टी विभाजन समेत हुन पुगेको हो भन्ने प्रमाणित हुँदैन र? ईतिहाँस लाई सम्मान गर्दै वर्तमानमा नयाँ सोच,जाँगर,योजना अनि योजना पुरा गर्न सक्ने भिजन सहितको युवा पुस्तालाई राजनैतिक नेतृत्वमा सहभागिता सहितको पार्टी सगठन गर्न सकेन यदि भने यथास्थितिमा अगाडि बढिरहे कङ्ग्रेस विसर्जन तर्फ जाने निश्चित छ । राजनैतिक ईतिहाँसका उपलब्धिको कुरा सुनाउँदैमा काँग्रेस मात्रै होइन स्वयं देश समेत बलियो हुँदैन । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, राष्ट्रिय एकता मूल दर्शन बोकेको राष्ट्रिय राजनीतिको प्रमुख परिवर्तनकारी शक्ति नेपाली काङ्ग्रेससँग पार्टीमा आबद्ध व्यक्तिहरूको मात्रै होइन सम्पूर्ण देशवासीको समेत ठुलो अपेक्षा छ। वर्तमान समय भनेको उखान, चर्का र भद्दा गाली गलौचको भन्दा देश विकासको नतिजामुखी मूल्याङ्कनको समय हो। म फलानोको भन्दैमा नयाँ पुस्ताले स्वीकार गर्ने वाला छैन । जसले समय सापेक्ष आफूलाई परिवर्तन गरायो र देश विकासको योगदान दियो उसैको नेतृत्वलाई मात्रै सबै नागरिकले आत्मसात् गर्नेछन् ।

काँग्रेसले पार्टी एव देशको राजनीति, पार्टी आन्तरिक विरोधको उचित व्यवस्थापन गर्न नसक्दा त्यसपछिको समयमा बामपंन्थीहरु पहिलो पटक सत्तामा आए भने जनयुद्ध समेत सुरु भयो। १० वर्ष द्वन्द्व र त्यसको व्यवस्थापन गर्दागर्दै देश अन्धकार तर्फ धकेलियो। वर्तमान समयसम्म पनि राज्यले द्वन्द्व व्यवस्थापनमा निकै ठुलो समय र लगानी गर्दै छ । काग्रेशको आफ्नो मूल्यमान्यता र आदर्शको राजनीति स्खलित हुन जाँदा त्यसको दीर्घकालीन असर समग्र देश विकासमा समेत देखा पर्‍यो ।

चौधौँ महाधिवेशनको संघारमा रहेको पार्टी नेतृत्वको प्रतिस्पर्धाको लागि आकाक्षि उमेद्वारहरु पार्टी कार्यकर्ता र प्रतिनिधिको अगाडि आफ्ना एजेन्डा र कार्यक्रम लैजानु पर्नेमा ‘कोठे र गुटगत’ उम्मेदवारी दिने गलत अभ्यास गर्दै गरेको देखिन्छन् । यस्तो गतिविधिले पार्टी नेताहरू एवं कार्यकर्ताहरूमा पार्टी प्रति जिम्मेवार हुनको लागी चाहिने ऊर्जा, जोस जाँगर हराएर जाने हुँदा यस्तो अभ्यास र अवस्थामा काँग्रेस कहिले एक र बलियो होला? पार्टीका नेताहरूकै व्यवहार को अनुकरण र अनुसरण गर्दै राजनैतिक नेतृत्वमा आउन खोज्ने आधुनिक युवाहरूमा समेत पैसा, समूह/गुटबाट नेतृत्व हत्ताउने नसके दल त्याग गर्नुपर्छ भन्ने मानसिकता रहेको देखिन्छ । पार्टी नेतृत्व आफ्ना कार्यकर्ता, पार्टी र समग्र राष्ट्रिय राजनीति प्रति कहिल्यै जिम्मेवार नहुने तर पार्टीको नयाँ पुस्ताबाट मात्रै धैर्य, निष्ठा र ईमानदारीताको राजनीतिको अपेक्षा गर्नु वर्तमान बैश्यिक युगको नमिल्ने विषय होइन र? पार्टी नेतृत्वको यस्तै अनुदार बादी सोच र व्यवहार रहिरहे नेपाली काँग्रेसको स्थिति पनि नेपाली राजनीतिको पहिलो पार्टी ‘प्रजा परिषद्’ को जस्तै नहोला भन्न सकिँदैन ।

पछिल्लो समयमा नेपाली काँग्रेस न नीतिले चलेको छ न बिचारले नै अडिएको छ त केवल बिपीवाद’को अर्ध व्याख्याले। काँग्रेस आधुनिक बिचार र नीतिगत रूपमा अगाडी बढ्न नसक्दा पार्टी आन्तरिक रूपमा मात्रै होइन समग्र देशमा नै भ्रष्टाचार, बिचौलिया, गुटबन्दी, डनवाद र धनवाद हाबी हुनजादा सम्पूर्ण पार्टीहरूको मूल्य मान्यता आदर्श र सिद्धान्तले अस्तित्व खोज्दै रहेको देखिन्छ । नेपाली कम्युनिस्ट पार्टीहरूको जस्तै ‘जबज’, ‘बृद्धभत्ता’, ‘जनयुद्ध’ र ‘सहिद’ भन्दै प्रचार मुखी बनाएर त्यसैलाई भजाए जस्तै बिपीको समाजवादी दर्शन अहिलेको कंग्रेसलाई बहाना भएको छ। हिजो बि. सं. २००४-२०७२ सालसम्म संविधानसभा मार्फत संविधान जारी गर्दा समेत देशको नेतृत्व गरेको नेपाली काँग्रेस वर्तमानमा आइपुग्दा आफ्नो मूल गन्तव्य “सामाजिक समाजवाद” लाई बिर्सेर बिपीको समाजवादी दर्शन,नीति तथा कार्यक्रमलाई समय सापेक्ष व्याख्या, परिवर्तन र कार्यक्रम सचालन गर्न नसक्दा देशको प्रत्येक राजनैतिक परिवर्तनको प्रमुख नेतृत्वकर्ता, देश विकास एव राज्य सञ्चालनको लामो अनुभव भएको प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस  अस्थिर र जर्जर भैसकेका दक्षिणपन्थिहरु, उग्र राष्ट्रवादी बामपंथीहरुको जालझेल र षड्यन्त्रमा रुमल्लिँदै गएको छ। नेपाली काँग्रेसको गलत नीति एव राजनैतिक अभ्यासको कारण विश्वबाटै पलायन भएर सङ्ग्रहालयमा सीमित हुँदै गरेको साम्यवादी दर्शन बोक्ने वामपन्थीहरू नेपालमा भने बेलाबेलामा टाउको उठाउने मौका समेत पाए । यसको जिम्मेवारी समेत नेपाली कङ्ग्रेस र त्यसको नेतृत्वले लिनुपर्छ ।

पार्टीका विभिन्न शुभेच्छुक सङ्घसंस्था, भातृ सङ्घ सङ्गठनको अधिवेशन, नेतृत्व विकास र हस्तान्तरको पक्रिया नियमित गर्न सक्यो भने मात्रै युवावर्गहरुको मनोबल उच्च बनाइ राजनीतिमा आकर्षित गर्न सकिन्छ।  युवाहरू जसले आधुनिक प्रविधि सहित प्रस्ट बिचार, योजना कार्यक्रम समेत सञ्चालन गर्ने अवसर प्राप्त गर्नेछन् भने युवा नेतृत्व मार्फत पार्टी समेत ऊर्जाशील उत्पादन र चलायमान र हुनेछ। पार्टीमा समेत एउटा प्रणाली र पद्धतिको सुरुवात हुन जाँदा पार्टी कार्यकर्ताहरूको मनोबल समेत उच्च हुनेछ। अबको नयाँ पुस्ता नत काँग्रेस भित्रका गुटबन्दीमा लाग्ने हुनेछन् नत राजनैतिक रूपमा दिसाहीन यात्री । नत वामपन्थी बिचारले बग्गीको घोडाजस्ता दायाँ बायाँ नदेख्ने नै हुनेछन्। समय परिवर्तनशील छ, नेपाली जनतामा राजनैतिक चेतना हिजोको तुलनामा निकै वृद्धि भइरहेको छ। नेपाली काँग्रेसको आसन्न चौधौँ महाधिवेशन त्यसबाट प्राप्त नेतृत्वबाट नेपाली नागरिकले राजनैतिक स्थिरता कायम भै समय सापेक्ष देश विकासको ठुलो अपेक्षा राखेका छन् । स्वतन्त्र र प्रस्ट बिचार, नीति एवं योजनाका साथ अगाडि बढ्दै गरेको ‘सुनौलो नेपाल’ को विकासको अभियान र त्यसको नेतृत्व र बागडोरको जिम्मेवारी यी र यस्तै युवाहरूको हातमा पार्टीको नेतृत्व सुम्पन नेपाली काँग्रेसको वृद्ध नेतृत्वले कन्जुस्याइँ गर्न ढिलाइ भैसकेको छ।

रामेश्वर बराल, उपप्राध्यापक, पृथ्वीनारायण क्याम्पस, पोखरा

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version