देशका विभिन्न भागमा भारी, अति भारी र उच्च भारी वर्षाको सम्भावना देखिएकाले सम्भावित विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले आज सरोकारवालासँग छलफल गरेको छ ।
छलफलपछि वर्षाको समयमा हुनसक्ने जनधनको क्षति रोक्न कास्की जिल्लाबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन बस सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ। त्यसैगरी ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरु दिउँसो ४ बजेपछि चलाउन नपाइने व्यवस्था गरिएको छ। मौसम पूर्वसूचना र सडकको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न तथा अत्यावश्यक कामबाहेक लामो तथा छोटो दुरीको यात्रा नगर्न आग्रह गरिएको छ।
पर्यटन क्षेत्रमा पर्नसक्ने जोखिमलाई ध्यानमा राख्दै भारी वर्षाको अवधिभर पदयात्रा पूर्ण रुपमा बन्द गराउने निर्णय गरिएको छ। पदयात्रामा गएका पर्यटकहरुलाई सुरक्षित स्थानमा फर्कन सूचना प्रवाह गर्ने निर्णय भएको छ। साथै प्याराग्लाइडिङ, बन्जी जम्प, कायकिङ र जिपलाइनजस्ता साहसिक खेलहरु तथा फेवाताल र बेगनासतालमा सञ्चालित डुंगा, सर्फिङ र कायकिङ सेवा समेत खराब मौसमको जानकारी पाउनासाथ बन्द गर्न भनिएको छ।
‘विगतको निर्णय कार्यान्वयनको समीक्षा गर्दै भारी वर्षाबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि सबै विषयगत निकाय र संघसंस्थालाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय गरेका छौं,’ बैठकका निर्णयबारे जानकारी गराउँदै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले भने।
स्थानीय तहहरुलाई नदी तटीय र बाढी पहिरोको जोखिममा रहेका बस्तीहरुमा सूचना प्रवाह गर्न र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न भनिएको छ। स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र, स्वास्थ्य चौकी, डोजर र जेसिबी तयारी अवस्थामा राख्न तथा जोखिम मूल्यांकन गरी विद्यालयहरु बन्द गराउन सक्ने अधिकार स्थानीय तहलाई दिइएको छ। सुरक्षा निकायहरुलाई जनशक्ति र खोज उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन र नियमित कमान्ड पोष्ट बस्न निर्देशन दिइएको छ।
स्वास्थ्य क्षेत्रतर्फ एम्बुलेन्स र शववाहनसहित डाक्टर र नर्सहरुलाई स्ट्यान्डबाई राख्ने तथा हेलिकप्टर सेवा प्रदायक संस्थालाई तत्काल उडान गर्न सक्ने गरी तयारी अवस्थामा रहन भनिएको छ। सडक डिभिजन र हेभी इक्युपमेन्ट डिभिजनलाई चालकसहित मेशिनरी औजार तयारी हालतमा राख्न र रेडक्रस तथा गैरसरकारी संस्थाहरुलाई राहत सामग्री व्यवस्थापन गर्न भनिएको छ।
सञ्चारमाध्यमहरुलाई भने भ्रामक र अफवाह फैलाउने समाचार प्रवाह नगर्न र सही सूचना मात्र दिन अपिल गरिएको छ।
नदी र खोला किनारमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने, गिटी-बालुवा निकाल्ने वा बाढीले बगाएर ल्याएका सामग्री झिक्न नजान नागरिकलाई आग्रह गरिएको छ। बालबालिकालाई खेलकुदका लागि खोला किनारमा जान नदिन अभिभावकहरुलाई निगरानी गर्न अनुरोध गरिएको छ।
समितिले मोदी नदीको बाढीले नयाँपुल-विरेठाँटी-घान्द्रुक सडक खण्ड कटान गरेपछि सडक सुचारु गराउन २५० थान तारजाली उपलब्ध गराउने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना र जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयलाई धन्यवाद ज्ञापन गरेको छ। यस्तै मादी गाउँपालिका वडा नम्बर ३ का बाढी प्रभावित बुधे विश्वकर्मा वैदेशिक रोजगारीमा रहेकाले उनकी श्रीमती सिता विकसँग पुनर्गठन सम्झौता गरी भुक्तानी प्रक्रिया अघि बढाउने निर्णय भएको छ।
वर्षा र विपद् जोखिमलाई ध्यानमा राखी सेती सिँचाइको नहरमा जाने पानी सेती नदीमै डाइभर्ट गर्ने निर्णय गरिएको छ। बाढीले रूपा गाउँपालिका वडा नम्बर ५ सुढेला र पोखरा महानगरपालिका वडा नम्बर ३२ मालेपाटन जोड्ने झोलुंगे पुल बगाएकाले पुनः निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय समेत भएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार बसेको बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङको अध्यक्षता रहेको थियो।
बैठकमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, रुपा गाउँपालिकाका उपाध्यक्ष लालशोभा गुरुङ लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
बैठकको निर्णय विवरण सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका हुन्।
