नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बिहीबार सम्पन्न अधिवेशनबाट पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे पुनः निर्वाचित भएका छन्।
बिजुक्छेले ६ सय ८७ मत प्राप्त गर्दाै निकटतम मानिएका प्रतिष्पर्धी सन्तोष पौडेलले ३ सय १७ र गणेशबहादुर थापाले ३ सय १५ मत प्राप्त गरेका छन्।
पोखरा महानगर समितिको अधिवेशनमा १ हजार ४ सय ४८ प्रतिनिधि मतदाता रहेकामा १ हजार ३ सय ४१ मत खसेको थियो।
उपसभापतिमा किर्तिबल्लभ त्रिपाठी निर्वाचित भएका छन्। उनले ९ सय २० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मीनप्रसाद भट्टराईले ३ सय ३१ मत पाए।
त्यस्तै, महिला उपसभापतिमा सुचिता तामाङ निर्वाचित भएकी छन्। तामाङले ६ सय ८२ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी अम्बिका ढुंगानाले ६ सय ८ मत पाइन्।
सचिवमा धनञ्जय पौडेल निर्विरोध निर्वाचित भएका छन्। सहसचिवमा दामोदर पराजुली निर्वाचित भए। उनले ७ सय १३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी थानेश्वर तिवारीले ५ सय ६० मत पाए।
महानगर समितिका बाँकी सदस्य पनि निर्विरोध निर्वाचित भएका छन्।
