फराकिलो मतान्तरले रास्वपा गण्डकी सभापतिमा नवीन विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवीन त्रिपाठी विजयी भएका छन् ।

शुक्रबार राति अबेर भएको मतदानमा अरु ३ उम्मेदवारलाई पछि पार्दै त्रिपाठी विजयी भएका हुन् । पहिलो चरणमै ५० प्रतिशत मत ल्याएर त्रिपाठी विजयी भए ।

अध्यक्षका लागि नवलपुरका राजन गौतम, कास्कीका नवीन त्रिपाठी, माधवप्रसाद कँडेल र हरिबहादुर कार्की चुनावी मैदानमा थिए ।

त्रिपाठीले २ सय ३४ मत ल्याएर विजयी हुँदा बहालवाला सभापति र प्रतिनिधि सभा सदस्य समेत रहेका गौतमले १ सय ८२ मत पाए ।

सभापतिका अर्का उम्मेदवार माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत प्राप्त गरे।

सभापतिका आकांक्षीहरु बीच सर्वसम्मतिको प्रयासलगायत अन्य कारणले निर्वाचन तालिका नै बिथोलिएको थियो । राति ११ बजे मात्र मतदान सुरु भएको थियो । 

गौतम रास्वपा गण्डकीका निवर्तमान सभापति र त्रिपाठी महासचिव हुन् । कँडेल २०७९ मा भएको प्रनिनिधि सभामा कास्की क्षेत्र नम्बर २ का उम्मेद्‍वार थिए । कार्की वैकल्पिक राजनीति, सामाजिक अभियान तथा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय छन् ।

यस्तै गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेद्‍वारी दिएका छन् । जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकांक्षी मध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेद्वार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा निर्वाचन क्षेत्रका १/१ जना निर्वाचित हुन्छन् ।

समावेशी प्रदेश सदस्यका लागि २३ जनको उम्मेद्वारी परेको छ । समावेशीबाट १५ जना निर्वाचित हुन्छन् ।

प्रदेश सदस्यका लागि ५१ आकांक्षी मध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ १ का मीना शर्मा आचार्य, गोरखा १ बाट मनोज गुरुङ, गोरखा २ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ १ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भइन् । मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपांगता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।

अब ३९ उम्मेद्वारहरु बीच २१ सदस्यका लागि निर्वाचन भएको हो । गण्डकी प्रदेशको अधिवेशनमा ७ सय ८० प्रतिनिधि छन् । प्रदेश समितिले ४ जना सदस्य पछि मनोनित गर्न पाउने विधानमा उल्लेख छ । 

अधिवेशनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्‍घाटन गरेका हुन् । कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनले आफ्नो सांगठनिक संरचना र उम्मेदवार छनोट प्रक्रियालाई पूर्णतः परिमार्जन गर्दै राजनीतिलाई सेवाका रूपमा स्थापित गर्ने उद्‍घोष गरे ।

अधिवेशनलाई केवल पद प्राप्तिको माध्यम मात्र नभई विचार र नीतिको मन्थन गर्ने थलोका रूपमा व्याख्या गरे । ‘अधिवेशन भनेको नेतृत्व चयन मात्र होइन, यो नीति निखार गर्ने थलो पनि हो,’ उनले भने ।

प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमबाट चुनाव गर्न सकिने भए तापनि कार्यकर्ताको वास्तविक क्षमता र इमानदारिता जाँच्न भौतिक उपस्थिति अनिवार्य रहेको उनको भनाइ थियो ।

राजनीतिमा मौलाउँदै गएको विकृतिप्रति लक्ष्य गर्दै उनले भने, ‘राजनीतिलाई आफ्नो कर्म बनाऔं, तर यसलाई कसैको पेवा बनाउने कोसिस नगरौँ ।’

पार्टी स्थापनाको छोटो समयमै प्राप्त जनलहरको चर्चा गर्दै महामन्त्री बुर्लाकोटीले रास्वपा कुनै एक व्यक्तिको स्वार्थका लागि नभई देशको भविष्य बदल्न जन्मिएको बताए । ‘हामी हाम्रो राजनीतिक भविष्य खोज्न पार्टीमा जोडिएका होइनौं,’ उनले भने, ‘यो देशको भविष्य निर्माण गर्न जोडिएका हौं ।’ उनले सोही अनुसार कार्यकर्ताहरुलाई अघि बढ्न उनको आग्रह थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीको सांगठनिक संरचना अब ‘मास बेस्ड’ र ‘क्याडर बेस्ड’ दुवैको फ्युजन (मिश्रण) बाट अघि बढ्नुपर्ने बताए ।

‘हामीले पार्टी स्थापना गर्दा मास बेस्ड भन्यौँ, तर अहिले धेरैले क्याडर बेस्ड बनाउन लाग्यो भनेर टिप्पणी गरिरहेका छन्,’ उनले भने, ‘कसैले भ्रममा नपरे हुन्छ, रास्वपा अब यी दुवै अवधारणाको मिश्रणबाट अगाडि बढ्छ ।’

आगामी निर्वाचनको तयारी र उम्मेदवार चयनका विषयमा बोल्दै उनले पार्टीले क्यान्डिडेट क्लबको अवधारणा अघि सारेको बताए ।

पार्टीको नेतृत्व सम्हालेका व्यक्तिहरू नै आगामी निर्वाचनमा निर्विकल्प उम्मेदवार नहुने स्पष्ट पार्दै उनले क्षमतावान् र राष्ट्र निर्माणमा योगदान दिन चाहने जुनसुकै नागरिकलाई यो क्लबमार्फत जोड्न सकिने उल्लेख गरे ।

Exit mobile version