नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ को क्षेत्रीय समिति सभापतिमा युवा नेता सरोज केसी निर्वाचित भएका छन्।
बिहीबार राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनी आफ्ना निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतान्तरले हराउँदै विजयी बनेका हुन्।
दुई दिनअघि सम्पन्न मतदानको मतगणना बिहीबार राति साढे १ बजे सकिएको थियो। कुल खसेको ९७० मतमध्ये विजयी केसीले ४७२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी गुरुङले ४११ मत ल्याए। सभापतिका अर्का उम्मेदवार अप्सरा श्रेष्ठले भने ७० मत मात्र ल्याइन्।
यसैगरी सहसचिव पदमा २७७ मत ल्याएर प्रताप बानियाँ निर्वाचित भए।
कास्की कांग्रेसको सभापति भइसकेका कृष्ण केसीका छोरा हुन् सरोज केसी । सरोज लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय छन्।
उनी यसअघि प्रदेश सभा सभापति थिए। यसपटक जेनजी नेता बिमान प्रधानको प्रस्ताव र रसकुमारी गुरुङको समर्थनमा उनले उम्मेदवारी दिएका हुन्।
पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यले चुनाव लडेको उनले बताउँदै आएका छन्।
कास्की क्षेत्र नम्बर १ अन्तर्गतका अन्य समितिमा पनि नयाँ नेतृत्व चयन भएको छ। क्षेत्र नम्बर १ ९ख० को सभापतिमा अर्जुन गुरुङ निर्वाचित भए।
सोही क्षेत्रको उपसभापतिमा लोकबहादुर गुरुङ १ मतान्तरले विजयी भए भने सचिवमा २९६ मत ल्याएर किरण अधिकारी चुनिए।
यसअघि कास्की क्षेत्र नम्बर १ ९क० को सभापतिमा नरेन्द्र थापा निर्विरोध निर्वाचित भइसकेका छन्।
