आज ६० बढी जिल्लामा ‘फ्ल्यास फ्लड’को जोखिम,कास्की पनि ‘अलर्ट’मा

जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६० भन्दा बढी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी को जोखिम रहेको जनाएको छ।

विभागका अनुसार लुम्बिनी प्रदेशका पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ तथा आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव तीव्र रूपमा बढी आकस्मिक बाढीको उच्च जोखिम रहने सम्भावना छ।

यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीका धेरैजसो जिल्ला, काठमाडौँ उपत्यकाका तीनै जिल्ला, चितवन, कास्की, रुपन्देही, सुर्खेत, दैलेख, कालिकोट लगायतका जिल्ला र आसपास भई बहने साना नदीहरूमा पनि बहाव उल्लेख्य बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ।

नदी तथा खोला किनारका बासिन्दा, तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण तथा यात्रामा निस्कनेलाई उच्च सतर्कता अपनाउन र बाढी तथा पहिरोको जोखिमबाट बच्न पूर्वतयारी गर्न बाढी पूर्वानुमान महाशाखाले विशेष अनुरोध गरेको छ।

फाइल तस्बिर

Exit mobile version