पोखरा महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एक सूचना जारी गर्दै आज ८ गते र भोलि ९ गते विद्यालयहरू बन्द रहने बताएका छन्।
सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै आकस्मिक बिदाको सूचना जारी भएको हो ।
मौसम प्रतिकूल बन्दै गएको र विपद्को जोखिम बढेकोले पूर्वसावधानी अपनाउनका लागि यो निर्णय लिइएको हो। यसअघि शिक्षा मन्त्रालयले पनि आज र भोलि विद्यालय बिदा गर्न आग्रह गरेको थियो। मन्त्रालयको सोही आग्रहलाई समेत मध्यनजर गर्दै महानगरले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गराएको छ।
अतिक्रमण र जोखिमबाट बच्नका लागि विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन महानगरले अनुरोध गरेको छ। ‘सुरक्षा नै पहिलो प्राथमिकता हो, सतर्क रहौँ, सुरक्षित रहौँ,’ सूचनामा भनिएको छ।
बिदा दिएका यी दुई दिनको पठनपाठनलाई क्षति नपुग्ने गरी पछि अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महानगरले जनाएको छ। विपद्को यो समयमा सबैलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
बिदाको सूचना सार्वजनिक भएपछि विद्यालयहरुले अभिभावक र विद्यार्थीहरुलाई धमाधम बिदाको सूचना प्रवाह गरिरहेका छन् । विद्यालयमा बिदा दिईपनि उच्चतहका शैक्षिक संस्थामा भने बिदा दिइएको छैन ।
सूचना जारी भएपछि ढिलो गरी सूचना दिइएको भन्दै कतिपय अभिभावक रुष्ट भएका छन् ।
