कास्की प्रशासनको सुरक्षा चासोः काहुँखोला–सिक्लेसमा राती सवारी चलाउन रोक

जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाको काँहुखोला–सिक्लेस सडकमा रातिको समयमा सवारी साधन संचालनमा रोक लगाईएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति कास्कीको बैठकले सो निर्णय गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । निर्णय अनुसार गाडी चलाउन रोकिएको अवधिसम्म अत्यावश्यकबाहेकका सबै गाडीलाई रोकिनेछ ।

वर्षातको समयमा सुरक्षा संयमता अपनाउन र बाढी, पहिरोको कारणबाट यात्रु तथा सवारी साधनहरुमा हुनसक्ने सम्भाव्य क्षति न्यूनीकरण गर्न बुधबारदेखि ७ दिन काँहुखोलादेखि सिक्लेस जाने सवारी साधनहरु साँझ ५ बजेभित्र छुटिसक्नु पर्ने छ ।

त्यस्तै, सिक्लेसदेखि काँहुखोला जाने सवारी साधनहरु बिहान ५ बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने व्यवस्था गरिएको कास्की प्रशासनले जनाएको छ ।

यता, विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी र लुम्लेदेखि लान्द्रुक जाने सवारी साधनहरुलाई समेत सोही समय तोकिएको छ ।

घान्द्रुकदेखि विरेठाँटी, उल्लेरीदेखि विरेठाँटी र लान्द्रुकदेखि लुम्ले जाने सवारी साधनहरु बिहान ५ बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने यसअघि नै गरिएको व्यवस्थालाइ निरन्तरता दिइएको छ ।

Exit mobile version