कास्की प्रशासनको अपीलः -‘आवतजावतमा सतर्कता अपनाउनुहोला’

जिल्ला प्रशासन कार्यालय कास्कीले असोजको १७ देखि २० गतेसम्म जिल्लाभित्र आवतजावतमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कास्की प्रशासनद्वारा जारी अनुरोधमा भनिएको छः

जल तथा मौसम विज्ञान विभागबाट प्रक्षेपण भए बमोजिम मिति २०८२ आश्विन १७ गते देखि २० गते सम्म नेपालभर हुनसक्ने वर्षात् को दौरान गण्डकी प्रदेशमा समेत मध्यम देखि भारी वर्षाको प्रक्षेपण गरिएको छ। उल्लिखित पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो, भू-क्षय, हिमपात लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना समेतलाई मध्येनजर गरी देहाय बमोजिम सतर्कता अपनाउनुहुन सम्बन्धित सम्पूर्णमा हार्दिक अनुरोध छ ।

देहायः

१, उल्लिखित समयमा अत्यन्त जरुरी काम नभई घरदेखि टाढा र रातको समयमा यात्रा नगर्नुहुन । यात्रा गर्नुपर्दा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनाहरुलाई पालना गर्नु गराउनुहुन ।

२, बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा उच्च सतर्कता अपनाउनुहुन । पहिरोको उच्च जोखिम रहेका स्थान र नदी किनारका बासिन्दाहरु बाढीको उच्च वहाव हुन लागेमा जोखिमयुक्त स्थानमा नबसी अन्य उपयुक्त र सुरक्षित स्थानमा बस्नुहुन । उपयुक्त र सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहबाट आवश्यक समन्वय गर्नुहुन ।

३, जोखिमयुक्त क्षेत्रका बासिन्दाहरुले आपतकालीन अवस्थामा उपयोग गर्नको लागि आवश्यक पर्ने सामग्री, औषधी, महत्वपूर्ण कागजात तथा धनमाल सहितको झटपट झोला तयार गरी राख्नुहुन ।

४, वर्षातको समयमा राष्ट्रिय राजमार्ग तथा ग्रामिण सडकमा चल्ने सवारी साधनलाई संयमतापूर्वक संचालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन लगायत सुरक्षित यात्राको लागि सतर्कता अपनाउन यातायात व्यवसायीले आफू मातहतका सवारी चालक एवं सहचालकलाई सचेत गराउनुहुन ।

५, विरेठाँटी देखि घान्द्रुक, विरेठाँटी देखि उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोला देखि ताङतिङ-सिक्लेस जाने सवारी साधनहरु मिति २०८२।०६।१७ गतेदेखि अर्को व्यवस्था नभएसम्मको लागि दिउँसो ४,०० बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्ने एवं सोही मार्ग हुँदै फर्किने सवारी साधनहरु मिति २०८२।०६।१८ गतेदेखि अर्को व्यवस्था नभएसम्मको लागि बिहान ५,०० बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्ने व्यवस्था सम्बन्धित यातायात व्यवसायीले मिलाउनुहुन । तर भारी वर्षाको समयमा सो सडकखण्डमा सवारी साधन चलाउन रोक लगाउनुहुन ।

६, सिद्धार्य राजमार्ग, भूपि शेरचन राजमार्ग (पोखरा-बाग्लुङ्ग), वेगनास ताल-भोर्लेटार सडक खण्ड, मुग्लिन-पोखरा सडक खण्ड र अन्य जोखिमयुक्त सडक खण्डहरुमा तुरुन्त परिचालन हुनेगरी डोजर, एक्साभेटर, लोडर लगायतका हेभी ईक्युपमेन्टहरु सम्बन्धित कार्यालय-डिभिजन-आयोजना र निजी क्षेत्रले समेत तयारी अवस्थामा राखुहुन ।

७, उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना भएकोले जिउज्यानको सुरक्षालाई दृष्टिगत गरी अन्नपूर्ण हिमाल, मर्दि हिमाल लगायतका कुनैपनि स्थानमा पदयात्राका लागि ननिस्किनुहन,

८, सबै स्थानीय तह, नेपाल रेडक्रस सोसाईटी, साझेदार संस्था, निजी क्षेत्र, नागरिक समाज तथा सरोकारवाला निकायहरु विपद् पूर्व तयारीमा जुट्‌नुहुन र आवश्यक प्रतिकार्यको लागि तयारी अवस्थामा रहनुहुन ।

९, कुनै विपदजन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी ईकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासन र देहायका सम्पर्क नं मा तुरुन्त जानकारी गराउनुहुन ।

सम्पर्कको लागिः

क, नेपाली सेनाः ०६१-५८११६०, ९७६३२४६०२२ (ड्यूटी अफिसर)

ख, नेपाल प्रहरीः १०० (प्रहरी कन्ट्रोल), ९८५६०३९५९९ (डयूटी अफिसर)

ग, सशस्त्र प्रहरी बल नेपालः ०६१-५४४०८८, ९८५१२७२०८० (ड्यूटी अफिसर)

Exit mobile version