काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको भनिएको शक्तिशाली चक्रवात ‘अर्नब’को सम्भावित प्रभाव नेपालमा पनि पर्न सक्ने आकलन गरिएको छ । यसको प्रभावका कारण आगामी बिहीबारदेखि देशका विभिन्न स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसम पूर्वानुमानअनुसार बिहीबार रातिदेखि मौसमी गतिविधि बढ्दै शुक्रबार र शनिबार यसको प्रभाव बढी देखिन सक्ने सम्भावना छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ ।
सम्भावित मौसमी प्रणालीका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान छ । केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले विशेष सतर्कता आवश्यक देखिएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
चक्रवात भारतको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेपछि कमजोर हुँदै अघि बढ्न सक्ने भए पनि त्यसबाट विकसित हुने मौसमी प्रणालीले नेपालमा वर्षा गराउन सक्छ । त्यसैले चक्रवात कमजोर हुँदैमा नेपालमा वर्षाको जोखिम पूर्ण रूपमा समाप्त हुन्छ भन्ने हुँदैन ।
सम्भावित वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र प्रतिकूल मौसमको जोखिम बढ्न सक्ने देखिएको छ । हिमपातसँगै हिमआँधी तथा हिमपहिरोको जोखिमसमेत हुन सक्ने भएकाले पदयात्री, पर्वतारोही र पर्यटकलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ । मौसम प्रतिकूल हुने पूर्वानुमान भएका बेला उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न, आवश्यकताअनुसार यात्रा योजना परिवर्तन गर्न र जोखिमपूर्ण स्थानमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
धानबाली भित्र्याउने समयमा हुन सक्ने वर्षाले कृषि उपजमा क्षति पुर्याउने जोखिम पनि उत्तिकै छ। वर्षाका कारण काटिएको धान भिज्ने तथा खेतमा रहेको बालीमा असर पर्ने सम्भावना रहेकाले किसानलाई मौसमको पूर्वानुमान हेरेर पाकेको धान सुरक्षित रूपमा भित्र्याउने तयारी गर्न सुझाव दिइएको छ ।
त्यस्तै, भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने, नदी तथा खोलामा पानीको सतह बढ्ने र सडक यातायात प्रभावित हुने जोखिम रहन्छ। त्यसैले लामो दूरीको यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझ्न तथा जोखिमयुक्त सडकखण्डमा विशेष सावधानी अपनाउन आवश्यक छ।
चक्रवातको सम्भावित प्रभाव आगामी दिनमा बढी देखिन सक्ने भए पनि बुधबारदेखि नै देशका विभिन्न स्थानमा बादल लाग्ने र केही क्षेत्रमा छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ। बिहीबार रातिदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना थप बढ्न सक्ने भएकाले मौसमको नियमित जानकारी लिनु महत्त्वपूर्ण हुनेछ।
मौसम प्रणालीको दिशा, वर्षाको मात्रा र प्रभाव क्षेत्र परिवर्तन हुन सक्ने भएकाले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने पछिल्लो मौसमी बुलेटिन तथा आधिकारिक चेतावनीलाई आधार मानेर आवश्यक निर्णय लिनुपर्छ। सम्भावित जोखिमलाई बेवास्ता नगरी किसानले बाली जोगाउने तयारी गर्न, यात्रुले मौसमको अवस्था बुझ्न र हिमाली क्षेत्रमा जानेहरूले विशेष सतर्कता अपनाउन आवश्यक छ। समयमै अपनाइएको सावधानीले सम्भावित क्षति न्यूनीकरण गर्न मद्दत पुर्याउन सक्छ।
