नागरिकता, नियुक्ति र १८ करोडको आरोपपछि आनी छोइङको स्पष्टीकरणः -‘सम्बन्धित निकायमा बुझियोस्’

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयपछि सञ्चारमाध्यममा यसप्रति पक्ष-विपक्षमा आम धारणा सार्वजनिक हुन थालेका छन् ।


विशेषतः आनीको सम्पत्ति विवरण, नागरिकतालगायतका विषयलाई सरकारले नजरअन्दाज गरेको रोष सार्वजनिक भएका छन् ।

यसकासाथै, आनीकै निजी जीवनमाथि समेत प्रहार हुन थालेपछि स्वयं आनी छोइङ डोल्माले फेसबुक लाईभमा साढे १२ मिनेट लामो भिडियोमार्फत स्पष्टीकरण दिएकी छिन् ।

आफुलाई सरकारले योग्य ठानेर कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णयपछि आफुमाथि भएको प्रहारलाई आनीले प्रष्ट्याउने प्रयास गरेकी छिन् ।

उक्त निर्णयपछि धेरैले शुभेच्छासहित ‘तिमी सक्छौ’ भन्दै शुभकामना दिएको तर केही व्यक्ति, समूहले विरोध गरेको लाञ्छना लगाएको उनले बोलेकी छिन् ।

सामाजिक सञ्जालमा आफुप्रति समर्थन गर्नेलाई तथाकथित शब्दमार्फत गालीगलौज गरेकोमा दुखी भएको भन्दै उनले असन्तुष्टी जाहेर गरेकी छिन् ।

‘यसअघिका सरकारी निर्णय र नियुक्तीमा पनि विरोध, असन्तुष्टी हुने गरेको हो’ आनीको भनाई छ ‘तर मेरो हकमा भएको विरोधले कतै हिंसा र धार्मिक द्वन्द्व फैलने त होइन भन्ने चिन्ता बढेको छ ।’

हाल चर्चामा रहेको १८ करोड रुपैयाँ र नागरिकतासम्बन्धी विषयमा उनले सम्बन्धित निकायमा गएर बुझ्न आग्रह गरेकी छिन् ।

‘सम्पत्ति शुद्धिकरण विभागमा गएर म उपर मुद्धा परे नपरेको बुझ्न सक्नुहुन्छ, राष्ट्र बैंकमा गएर जानकारी लिन सक्नुहुन्छ’ उनी भन्छिन् ‘मेरो नागरिकताबारे देशकै जिम्मेवार निकाय, प्रशासन कार्यालय गएर बुझ्न सक्नुहुन्छ ।’

विरोध गर्दा क्षणिक लाभ भएपनि त्यसले आफुमाथि क्षति भइरहेको उनको भनाई छ । ‘कसैबाट परिचालित भएर, पैसाको लालचमा कसैको छवि बिगार्ने अधिकार कसैलाई पनि छैन’ उनले भनेकी छिन् ।

आफुले चाहे कुनै पनि देशमा जानसक्ने, नागरिकता लिन सक्ने अवसर भएपनि आफु जन्मेको, साधना गरेको, बुद्ध जन्मेको देशमा बस्न पाउँदा गौरवान्वित भएको उनको भनाई छ ।

‘यही देशमा जन्मे, यहीको नुन खाए, अब यही देशमा सेवा गर्छु भन्दा म माथि विभिन्न शंका किन ? आरोप र गाली गलौज किन ?’ उनले प्रश्न गरेकी छिन् ।
‘मैले धर्म, कर्म यही गर्छु र यही मर्छु’ भन्दै आनीले सरकार र सम्पूर्ण नेपालीको विश्वासमा खरो उत्रने बताएकी छिन् ।

अन्त्यमा उनले भनेकी छिन् ‘म आफुमाथि भएको आरोप, लान्छनाबाट कत्तिपनि विचलित छैन । मलाई दिइएको जिम्मेवारी सफलतापूर्वक पुरा गर्न सकुँ, आशिर्वाद दिनुहोला ।’

Exit mobile version