गण्डकीमा एमाले मन्त्रीले बुझाए राजीनामा, सरकार फेरबदलमै बिते वर्ष

गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार बिहान बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरुले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका हुन् ।

एमालेबाट सरकारको नेतृत्व गरेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले यसबारे जानकारी दिए । केन्द्रमा नेकपा एमाले र अर्को कम्युनिस्ट पार्टीबीच नयाँ सहकार्य सुरु भएपछि गण्डकीमा पनि एमाले सरकारबाट बाहिरिएको हो ।

यसअघि मंगलबार बसेको एमाले संसदीय बोर्डको बैठकले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सरकारमा एमालेबाट ४ जना मन्त्री सहभागी थिए । गोविन्दबहादुर नेपालीसँगै उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल बाहिरिएकी छन् । कृषि मन्त्री भीम कार्की र स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले पनि पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री पाण्डेले गएको २ वैशाखमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै उनीहरुलाई नियुक्त गरेका थिए । एमालेका मन्त्रीहरु आफूले बनाएको बजेट कार्यान्वयनमा जान नपाउँदै सरकारबाट बाहिरिनु परेको छ ।

यससँगै, मुख्यमन्त्री पाण्डेको कार्यकाल ठोस र देखिने काममा भन्दा सत्ताको जोडघटाउ र मन्त्री फेरबदलमै बितेको देखिन्छ । उनले वैशाखमा सबै पुराना मन्त्री हटाएर नयाँ टिम बनाएका थिए । त्यही बेला एमालेका ४ मन्त्री सरकारमा सहभागी भएका थिए । तर छोटो समयमै उनीहरुले जिम्मेवारी छाड्नु परेको छ ।

एमाले सरकारबाट बाहिरिए पनि राप्रपा र नयाँ शक्ति पार्टीको समर्थन भने मुख्यमन्त्री पाण्डेलाई कायमै छ । राप्रपा अहिले सरकारमा नजाने पक्षमा देखिएको छ ।

नयाँ शक्तिका फणीन्द्र देवकोटा भने मन्त्री बन्ने पक्का भएको छ । एमाले छाडेर कांग्रेसलाई सघाएका देवकोटा यसअघि २ पटक मन्त्री भइसकेका छन् ।

जेन्जी आन्दोलनपछि उनले मन्त्रीबाट राजीनामा दिएका थिए । अब कांग्रेसबाट मन्त्री को बन्ने भन्ने विषयमा रस्साकस्सी सुरु भएको छ ।

Exit mobile version