कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ गते सुरु हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’को मुख्य सहयोगीमा ‘सीडीएच’ रहेको छ ।
पोखराको लेकसाइडस्थित गौरीघाटमा रहेको ‘कफी डी हिमालयज’ (सीडीएच)का सीइओ महेन्द्र गुरुङ र कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठबीच भएको सम्झौतामा सीडीएच मुख्य सहयोगकी रहने बताइएको छ ।
सीडीएच ब्रण्डमा २ वर्ष अघिदेखि अर्गानिक कफी हाउस सञ्चालन भइरहेको कम्पनीसँग कफी प्रशोधन गर्ने ‘ब्लूसीप’ आउटलेटसमेत रहेको छ । जहाँ कफी पल्पिङ, रोस्टिङ र ग्राइन्डिङ गरिने व्यवस्थापक अरुण गुरुङ बताउँछन् ।
कम्पनीले ५ वर्ष अघिदेखि नै बारिस्ता स्कुल सञ्चालन गर्दै आएको व्यवस्थापक अरुणले बताएका छन् । पोखराको न्यूरोडमा रहेको कफी एकेडेमिक्स यहाँको स्तरीय बारिस्ता तालिम सेन्टर हो ।
यहाँबाट तालिमप्राप्त जनशक्तिले ‘स्पेशियालिटी कफी एशोसियसन’ (एससीए)बाट प्रमाणपत्र पाउने छन् जसलाई विश्वव्यापी मान्यता दिइने अरुणले जानकारी दिए ।
पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता सञ्चालन हुने मिडिया कप फुटसलको तयारी तीब्र पारिएको जनाउँदै अध्यक्ष श्रेष्ठले अन्य संस्थासँग साझेदारीका काम भइरहेको बताएका छन् ।
अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन् ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले १५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागी जिल्लालाई मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिने श्रेष्ठले बताए ।
खेलाडीले एक प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल पत्रकार महासंघ वा सूचना विभागको कार्डको प्रतिलिपि र सम्बन्धित जिल्लाको महासंघबाट सहभागी हुन लेखिएको पत्रसमेत उपलब्ध गराउनु पर्ने उनले प्रष्ट पारे ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गर्नु पर्ने छ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।
