गण्डकी ‘मिडिया कप फुटसल’मा प्रदेश बाहिरका खेलाडीले पनि खेल्न पाउने, तयारीमा तीब्रता

कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तरगत नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ गतेदेखि सुरु हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ मा देशभरका पत्रकारले भाग लिन पाउने भएका छन् ।

कल्प मिडियाले जनाए अनुसार प्रतियोगिताको आयतन फराकिलो बनाउन र देशभरका इच्छुक खेलाडीलाई अवसर दिन नियममा केही परिमार्जन गरिएको हो ।

मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिता गण्डकी प्रदेशस्तरीय भएपनि प्रदेशबाहिरका पत्रकारलाई समेत अवसर दिन र सम्बन्ध विस्तार गर्न ‘ओपन गेम’को अवधारणामा अघि बढेको बताए ।

जसअनुसार नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध कुनैपनि जिल्लाका खेलाडीले समेत प्रतियोगितामा भाग लिने अवसर पाउने भएका छन् ।

‘गण्डकी बाहिरबाट पनि खेलप्रेमी साथीहरुले भाग लिन इच्छा जाहेर गर्नुभयो’ अध्यक्ष श्रेष्ठले भने ‘उहाँहरुलाई पनि समेट्ने अभिप्रायले सबै पत्रकारलाई खुला गर्न नियम परिवर्तन गरेका छौं ।’

प्रदेश बाहिरबाट आउने खेलाडीले यातायात, बास र खानाको खर्च स्वयं व्यहोर्नुपर्ने मिडियाले जनाएको छ । प्रदेशका खेलाडीलाई भने बास र खानाको प्रबन्ध आयोजकले गर्ने श्रेष्ठले बताए ।

त्यस्तै, सहभागी खेलाडी पत्रकारितामा सक्रिय भएपनि परिचयपत्र नभए मन्च वा पत्रकार महासंघले सिफारिश गर्नुपर्ने आयोजकले प्रष्ट्याएको छ ।
यसक्रममा खेलका दौरान वा खेलपछि अन्य टिमले ‘प्रोटेष्ट’ गरे त्यसको जिम्मेवारी सम्बन्धित जिल्ला शाखा वा मन्चको हुने बताइएको छ ।

खेल अवधिमा खेलाडीको बीमासमेत गरिएको बताउँदै श्रेष्ठले भनेका छन् ‘बीमाको प्रक्रिया पुरा गर्न सहभागी टिमलाई यथाशीघ्र खेलाडीको विवरण बुझाइदिन आग्रह गर्दछु ।’

पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता सञ्चालन हुने मिडिया कप फुटसलको तयारी तीब्र पारिएको जनाउँदै अध्यक्ष श्रेष्ठले अन्य संस्थासँग साझेदारीका काम भइरहेको बताएका छन् ।

अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन् ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले १५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागी जिल्लालाई मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिने श्रेष्ठले बताए ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २४ गतेसम्म टिम दर्ता गर्नु पर्नेछ। टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।

Exit mobile version