प्रधानमन्त्री कोषमा पृथ्वी राजमार्गद्वारा १० लाख एघार हजार सहयोग

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले हालै त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत स्वरूप १० लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अप्रत्यासित बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी, नुवाकोटको विदुर, देवीघाट र धादिङको त्रिशूली नदी आसपासका क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ।

कम्पनीका अध्यक्ष एन कुमार साईले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले शोकमा परेका परिवारजनप्रति संवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे।

अध्यक्ष साईका अनुसार बाढीका कारण यसै कम्पनीमा आबद्ध बा २ ख ११५२ नम्बरको यात्रीवाहक बस टिमुरे क्षेत्रबाट ३२ जना यात्री र चालक सागर देवकोटासहित बेपत्ता भएको छ।

बेपत्ता चालक, यात्री र बसको खोजी कार्यका लागि उनले सम्बन्धित निकायसँग आग्रह गरे। साथै, बसबाट उत्रन सफल भएका यात्रीहरूको उचित उपचारका लागि पहल गरिदिन समेत उनले अनुरोध गरेका छन्।

विपदको यस घडीमा उद्धार र राहत कार्यमा सहयोग पुर्‍याउन कम्पनीले कुल १० लाख ११ हजार १११ रुपैयाँ संकलन गरेको बताए।

उक्त रकममध्ये कम्पनीको तर्फबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ, सञ्चालक समिति र कर्मचारीहरूबाट २ लाख ७४ हजार रुपैयाँ र पृथ्वी यातायात सहकारी संस्थाको तर्फबाट १ लाख ८१ हजार ५५६ रुपैयाँ जुटाइएको हो।

उक्त रकमको चेक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

बाढीका कारण यातायात व्यवसायी, मजदुर, जलविद्युत आयोजनामा कार्यरत कर्मचारी र गोसाइँकुण्ड तीर्थयात्रामा रहेका आन्तरिक तथा बाह्य पर्यटकहरू समेत प्रभावित भएको कम्पनीको भनाई छ ।

Exit mobile version