उद्धारमा ‘डिस्टर्ब’ भएको गुनासोपछि फर्किए सांसद ढकाल र न्यौपाने, पार्टीकै नेताप्रति असन्तुष्टी

त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा जारी उद्धारमा सहयोग गरिरहेका रास्वपाका दुई सांसद सागर ढकाल र श्रीराम न्यौपाने काठमाडौं फर्किएका छन् । उद्धारस्थलमा सांसदहरुको उपस्थितले अवरोध पुगेको गुनासो आएपछि रास्वपाले उनीहरुलाई फर्किन निर्देशन दिएको थियो ।

सांसदद्वय ढकाल र न्यौपाने दुवै इन्जिनयिर हुन् । न्यौपाने सिभिलरजलस्रोत तथा सुरुङ ९टनेल० इन्जिनियर हुन् । उनले पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक र जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनी नागढुङ्गा सुरुङमार्ग र मेलम्ची खानेपानी आयोजनाजस्ता सुरुङ निर्माण क्षेत्रमा लामो अनुभव भएका विज्ञ हुन् ।

ढकाल मेकानिकल ९जलविद्युत्० र वाटर साइन्स इन्जिनियर हुन् । उनले पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङ ९जलविद्युत्० मा स्नातक गरेका छन् र बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट ‘वाटर साइन्स, पोलिसी एन्ड म्यानेजमेन्ट’ मा स्नातकोत्तर गरेका छन् ।

दुवै सांसदहरु आफ्नो विज्ञताका हिसाबले टनेल उद्धारमा सहयोग गर्न गएका थिए । उनीहरूले सामाजिक सञ्जालबाट त्यहाँ भइरहेको प्रगतिबारे नियमित अपडेट गराइरहेका थिए । तर, अन्य उद्धारकर्मीहरुलाई उनीहरूको उपस्थितिका कारण काममा बाधा भएको गुनासो ऊर्जामन्त्रीलाई गरेको समाचार मिडियाहरूले प्रकाशित गरेका थिए ।

हिजो पार्टीको वैठकले काममा अवरोध हुने गरी उद्धारस्थलमा नबस्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको थियो । त्यसको भोलिपल्टै उनी फर्किएका हुन् । सांसद न्यौपानेले त्रिशूली थ्री ‘ए’ को प्रवेशद्वार खुला भएपछि आफूहरु पैदल र गाडीबाट काठमाडौं फर्किएको फेसबुकबाट जानकारी दिएका छन् ।

त्यसअघि उनले आज विहान लेखेका थिए, ‘हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ । अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु ।’

सांसद न्यौपानेले सुरुङमा आफू दैनिक १८ घण्टासम्म निरन्तर खटिँदै आएको बताएका छन् । अब सुरुङभित्रको उद्धार तथा कामको जिम्मेवारी पुर्ण रुपमा नेपाली सेना र सशस्त्र प्रहरीले सम्हाल्ने प्रकृतिको भएकोले आफू फर्किने निर्णय गरेको उनको दाबी छ ।

अर्का सांसद ढकालले भने पार्टीका सिनियर नेताहरू नै मिडियाको लहैलहैमा लागेको भन्दै असन्तुष्टि पोखेका छन् । फिल्डमा सबैसँग सहकार्य भएको तर मिडियामा नकारात्मकता फैलाइएको उनको गुनासो छ ।

ढकालले लेखेका छन्, ‘फिल्डमा सबैको सहयोग थियो, तर मिडियामा यति नकारात्मकता फैल्याइयो कि काम गर्न केही हदसम्म डिस्टर्ब चाँही भयो । सिनियर पार्टी लिडर शुध्द मिडियाकै लहैलहैमा लाग्नु पर्‍यो ।’

सांसद ढकालले आजै बिहान एउटा स्टाटस लेखेर प्रधानमन्त्री बालेन्द्र शाहप्रति पनि घुमाउरो कटाक्ष गरेका थिए ।

उनले लेखेका थिए, ‘सदनमा सकिदैन, सम्भव छैन भन्ने कुरा गरिरहँदा हामीले गरेर देखाउने चरणमा छौँ ।’

Exit mobile version