पूर्वाधार विकास मन्त्री सुनील लम्सालले आज नागढुंगा सुरुङ मार्गको औपचारिक रूपमा उद्घाटन गरेका छन् । सुरुङमार्ग उदघाटनमा जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको पनि उपस्थिति थियो ।
राजधानी भित्रने र बाहिरिने यातायातलाई सहज बनाउने यस सुरुङ मार्गको सञ्चालन आजैदेखि आधिकारिक रूपमा सुरु भएको हो ।
यो सुरुङ मार्ग निर्माणको काम नेपालकै पहिलो अत्याधुनिक सुरुङ मार्ग आयोजनाका रूपमा २०७६ कात्तिक ४ गते शिलान्यास गरी सुरु गरिएको थियो। लामो समयको तयारी र निर्माण चरण पार गर्दै अन्ततः यो परियोजना आजबाट सञ्चालनमा आएको हो ।
आजबाट अत्यावश्यक सेवाका (दमकल, एम्बुलेन्स लगायत) सवारीमात्र सुरूङबाट गुड्न पाउने छ । टोल लगायत काम बाँकी रहेको र सुरुङ सञ्चालनका लागि कर्मचारीहरू पनि अभ्यस्त हुन समय लाग्ने भएकाले सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने छैन ।
सुरुङ मार्ग प्रयोग गरेवापत विभिन्न प्रकारका सवारी साधनका लागि शुल्क निर्धारण गरिएको छ। जसअनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
त्यस्तै, मिनीबस र मिनी ट्रिपर वा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ दस्तुर तोकिएको छ ।
यसैगरी, बस र सिंगल रियर एक्सल भएका ट्रकको हकमा काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ तथा बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ भने मल्टी एक्सल ट्रक, अन्य ठूला सवारी साधन र भारी उपकरणका लागि काठमाडौं प्रवेशमा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
तर, नागढुंगा सुरुङ मार्ग सञ्चालन तथा मर्मत एकाइकी जिज्ञाषा अधिकारीका अनुसार सुरक्षा सतर्कताका कारण दुई पाङ्ग्रे सवारी साधन, तरल र ग्यास इन्धन बोकेका सवारी, पशुपंक्षी बोक्ने सवारी तथा बम र बारुद ओसारपसार गर्ने सवारी साधनहरूलाई भने यस सुरुङ मार्ग प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
यसैबीच मन्त्री लम्सालले सुरुङमार्ग शिलान्यासको शिलालेख फेरि पुनर्स्थापना गर्ने बताएका छन् ।
सुरुङमार्गको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीको नाम हटाइएकोबारे उनले शिलान्यासको शिलालेख खोजेर पुर्नस्थापना गर्ने जानकारी दिएका छन् ।
ओलीको नाम हटाएकोबारे उनले भने, ‘हामीले भूतलाई एकदमै इज्जत गर्न सक्नुपर्छ । एकदम इज्जत गर्छौँ । केही कुरा मिडियामा आएको थियो, त्यस्तो होइन। यो टनेल बनाउने बेलामा शिलालेख राखेको ठाउँमा कुनै स्ट्रक्चर आएको त्यसलाई सुरक्षित सडक विभागमा राखिएको रहेछ । पछि जेन-जी आन्दोलनमा त्यो भवनमा आगो लागेपछि हराएको रहेछ ।’
सुरुङमार्गको उद्घाटनका लागि आज राखिएको शिलालेखमा पूर्वाधारमन्त्री लम्सालको नाम अभिलिखित छ ।
