नागढुंगा सुरुङ खुल्नुअघि ४ सय सहभागीको ऐतिहासिक ‘फन रन एन्ड वाक’

नेपालको पहिलो सडक सुरुङका रूपमा निर्माण सम्पन्न भएको नागढुंगा सुरुङको औपचारिक उद्घाटनअघि आयोजित ‘नागढुंगा टनेल फन रन एन्ड वाक २०२६’ मा ४०० भन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन्।

सडक विभाग (डीओआर) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा धावक, पदयात्री, विद्यार्थी, सरकारी अधिकारी, जापानी स्वयंसेवक, सञ्चारकर्मी तथा स्थानीय समुदायका सदस्यहरूले सुरुङ सञ्चालनमा आउनुअघि त्यसको प्रत्यक्ष अवलोकन तथा अनुभव गर्ने अवसर पाए।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य सुरुङको पूर्वाधारसँग सर्वसाधारणलाई परिचित गराउनुका साथै सुरुङ प्रयोगसम्बन्धी सुरक्षा सचेतना अभिवृद्धि गर्नु थियो। सहभागीहरूलाई सुरुङभित्र अपनाउनुपर्ने सुरक्षा मापदण्ड, आपतकालीन उद्धार प्रणाली तथा जिम्मेवार प्रयोगबारे जानकारी पनि प्रदान गरिएको थियो।

कार्यक्रमले नेपाल र जापानबीच करिब एक दशक लामो सहकार्यको सफलतासमेत प्रतिबिम्बित गरेको आयोजकको भनाइ छ। निर्माण सम्पन्न भएको नागढुंगा सुरुङ सञ्चालनमा आएपछि काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको यातायात थप सहज हुने, यात्रा समय घट्ने, सडक सुरक्षा सुधार हुने तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाली म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सहभागिता विशेष आकर्षणको रूपमा रहेको थियो। उहाँले सहभागीहरूलाई प्रेरित गर्नुका साथै ऐतिहासिक अवसरको महत्वलाई अझ उजागर गर्नुभएको आयोजकले जनाएको छ।

आधिकारिक रूपमा सञ्चालनमा आउन लागेको नागढुंगा सुरुङलाई नेपाल–जापान मित्रता, विश्वास र विकास साझेदारीको महत्वपूर्ण प्रतीकका रूपमा हेरिएको छ। उद्घाटनअघि आयोजित यस कार्यक्रममा सहभागी बनेका सयौं नागरिकले नेपालको आधुनिक सडक पूर्वाधारको इतिहासमा आफ्नो उपस्थिति दर्ज गराएका छन्।

Exit mobile version