कफीको दुनियाँमा अलग्गै ब्राण्ड बजेको ‘कफी दी हिमालयज’ (सीडीएच)ले दोस्रो वार्षिकोत्सव मनाएको छ ।
पोखराको लेकसाइड, गौरिघाटमा रहेको सीडीएचले वार्षिकोत्सवको अवसरमा देशव्यापी कफी ब्रेविङ प्रतियोगिताको आयोजना गरेको छ । जसमा पुनम थापा प्रथम भएकी छिन् ।
बुटवलबाट सहभागी थापाले ‘मास्टर ब्रेवर’को टाइटलसँगै नगद ३० हजार रुपैयाँ र ब्रेविङमा आवश्यक ग्याजेट उपहार प्राप्त गरेकी छिन् ।
प्रतियोगिताको दोस्रो स्थानमा काठमाण्डौंका मन्दीप श्रेष्ठ रहे । उनले नगद २० हजार रुपैयाँ र आकर्षक गिफ्ट पाएका छन् ।
यसैगरी, तेस्रोमा पोखराका मिलन गुरुङ रहेका छन् । जसले नगद १० हजार रुपैयाँकासाथै अन्य पुरस्कार प्राप्त गरे । मिलन सीडीएचकै कफी एकेडेमिक्सबाट तालिमप्राप्त बारिस्ता हुन् ।
प्रतियोगितामा पोखरासहित बुटवल, काठमाण्डौंलगायतका स्थानबाट २७ जना सहभागी थिए ।

वार्षिकोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरी देशभरका बारिस्तालाई पोखरामा स्वागत गर्न पाएको भन्दै व्यवस्थापक अरुण गुरुङले छोटो समयमै सीडीएच ब्राण्ड बन्न सफल भएको जनाए ।
सीडीएचले व्यवसायसँगै कफी सम्बन्धी शिक्षा, उत्प्रेरणा र बजारीकरणलाई प्राथमिकतामा राखेको उनको भनाई छ।
सीडीएच ब्रण्डमा २ वर्ष अघिदेखि अर्गानिक कफी हाउस सञ्चालन भइरहेको कम्पनीसँग कफी प्रशोधन गर्ने ‘ब्लूसीप’ आउटलेटसमेत रहेको छ । जहाँ कफी पल्पिङ, रोस्टिङ र ग्राइन्डिङ गरिने व्यवस्थापक गुरुङ बताउँछन् ।
कम्पनीले ५ वर्ष अघिदेखि नै बारिस्ता स्कुल सञ्चालन गर्दै आएको गुरुङले बताएका छन् । पोखराको न्यूरोडमा रहेको कफी एकेडेमिक्स यहाँको स्तरीय बारिस्ता तालिम सेन्टर हो ।
यहाँबाट तालिमप्राप्त जनशक्तिले ‘स्पेशियालिटी कफी एशोसियसन’ (एससीए)बाट प्रमाणपत्र पाउने छन् जसलाई विश्वव्यापी मान्यता दिइने अरुणले जानकारी दिए ।
यसैबीच, पोखरामा नयाँलिपिद्वारा आयोजना हुने गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसलको मुख्य सहयोगीमा सीडीएचले सम्झौता गरेको छ । सीडीएचका सीइओ महेन्द्र गुरुङ र कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठबीच भएको सम्झौता भएको हो ।