सिटीवानको तीज गीत प्रतियोगितामा देवीस्थान प्रथम, जित्यो ५० हजार 

पोखरा । सिटीवान टेलिभिजनले आयोजना गरेको चौथो संस्करणको तीज गीत प्रतियोगिता २०८२ मा पोखरा २५ हेम्जाको देवीस्थान भजन महिला समुह प्रथम भएको छ । 

गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सहभागी ४० समूह मध्य अब्बल बन्दै प्रथम भएको देवीस्थानले नगद ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर पुरस्कार स्वरुप हात पार्न सफल भयो ।

प्रतियोगितामा पोखरा २५ को कमलजोशी आमा समुह द्वितीय, बराह माध्यमिक विद्यालय तृतीय र हेम्जा आमा समुह सान्त्वना भयो । उनीहरूले क्रमश ३० हजार, २० हजार र १० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर हात पारे । 

यसैगरी विधागततर्फ उत्कृष्ट नृत्य तर्फको पुरस्कार बालोदय सेकेन्डरी स्कुल, उत्कृष्ट भेषभुषाको पुरस्कार महिला क्लब पोखरा ७ र उत्कृष्ट शब्द तर्फको पुरस्कार नेशनल इन्भेन्टिभ स्कुलको हातमा पर्‍यो । प्रोत्साहन पुरस्कार अम्मरसिंह माध्यमिक विद्यालयले जित्यो । विधागत र प्रोत्साहन तर्फको विजेताले नगद ५ हजार सहित गिफ्ट ह्याम्पर हात पारे ।

विजेतालाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, सिटीवान टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापति, कार्यक्रम संयोजक वरिष्ठ सौन्दर्यविद् चिनु गुरुङ, निर्देशक हरिराज पन्त लगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै मन्त्री बस्यालले तीज गीत प्रतियोगिताको आयोजनाले संस्कृतिको संरक्षण गर्दै पुस्तान्तरणमा सघाउने विश्वास व्यक्त गरे । मौलिक संस्कृति र रितिरिवाजको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले विकृतिको नियन्त्रण गर्दै संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । सन्देशमूलक प्रस्तुतीले समाजमा सकारात्मक धारणाको विकास हुने उनको भनाइ थियो ।

यसअगाडि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले गरेकी थिइन् ।  उद्घाटन  समारोहमा बोल्दै उपसभामुख थापाले तीज महिला एकताको दिनको रुपमा रहेको बताइन् ।

गण्डकी प्रदेश उद्योग परिसंघका अध्यक्ष धर्मराज वर्तौला,टेलिभिजनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक चिनु गुरुङ,सिटीवान टेलिभिजनका अध्यक्ष पवन कुमार प्रजापति,गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठ लगायतले तीज पर्व सहित तीज गीतको महत्वको बारेमा बोलेका थिए । 

कार्यक्रममा भारतीय पेन्सन बितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बघेल, नेपाल मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अनिल ओडुविल लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको निर्णायक संयोजकमा शङ्कर विरही गुरुङ, सदस्यमा अम्बिका भण्डारी र जुना क्षेत्री रहेका थिए । कार्यक्रममा सहजिकरण टेलिभिजनको प्रबन्ध निर्देशक अनिशा श्रेष्ठ सहित सरला त्रिपाठी भण्डारी, रिमा शाही ठकुरी, आशा मगर, सीमा सुनारले गरेका थिए । निर्णायक द्वय अम्बिका भण्डारी र जुना क्षेत्रीले साङ्गीतिक प्रस्तुती समेत राखेका थिए ।

Exit mobile version