कल्पको गण्डकस्तरीय मिडिया कप फुटसलको इन्स्योरेन्स पार्टनरमा ‘सलिको’

कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ गते सुरु हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’को इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) रहेको छ ।

सलिकोका पोखरा प्रमुख राजेश केसी र कल्पका अध्यक्ष सुरज श्रेष्ठबीच भएको सम्झौता अनुरुप खेलका दौरान प्रत्येक खेलाडीको बीमा गरिने भएको छ ।

प्रतियोगितालाई स्वस्थ र सुरक्षित राख्न सलिकोको योगदान रहने भन्दै प्रमुख केसीले कम्पनीको उद्देश्यअनुरुप कल्प मिडियाको सहयोगी बनेको बताए ।

कुनैपनि खेलमा कम्पनीले सुरुवाति दिनदेखि नै सहकार्य गर्दै आएको बताउँदै केसीले प्रदेशस्तरीय मिडिया कप प्रतियोगिताको सफलताको कामनासमेत गरेका छन् ।

सम्झौतापश्चात् मिडिया अध्यक्ष श्रेष्ठले खेलाडीको बीमा गरिदिएर प्रतियोगितामा हातेमालो गरेको भन्दै प्रमुख केसी र इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिएका छन् ।

पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता सञ्चालन हुने मिडिया कप फुटसलको तयारी तीब्र पारिएको जनाउँदै अध्यक्ष श्रेष्ठले अन्य संस्थासँग साझेदारीका काम भइरहेको बताएका छन् ।

अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन् ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले १५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागी जिल्लालाई मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिने श्रेष्ठले बताए ।

खेलाडीले एक प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल पत्रकार महासंघको प्रतिलिपि उपलब्ध गराउनु पर्ने बताए ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गर्नु पर्ने छ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।

Exit mobile version