अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा जाजरकोटको भेरी नगरपालिकामा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् ।
शुक्रबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ लगायतका स्थानमा पहिरो गएको हो । पहिरोमा परी घाइते भएका तथा जोखिममा परेकाको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी ५० जनाको संयुक्त टोली परिचालन गरिएको छ ।
पहिरोले भेरी–२ रिसाङमा आरनमा काम गरिरहेका ६० वर्षीय रामबहादुर शाही र भेरी–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की गम्भीर घाइते भएका छन् । जाजरकोट जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि शाहीलाई थप उपचारका लागि नेपालगञ्ज र कार्कीलाई सुर्खेत रिफर गरिएको छ । यस्तै, घाइते भएका ५२ वर्षीय केदार कार्कीलाई पनि नेपालगञ्ज पठाइएको छ ।
अन्य घाइतेमा आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामी, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । भेरी–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विकको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
पहिरो आउने क्रममा भाग्ने क्रममा भेरी–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजीकार्य जारी छ ।
पहिरोका कारण भेरी–३ स्यालाका पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा क्षति भएको छ भने भैरवी केसीका दुईवटा अस्थायी टहरा भत्किएका छन् । सुरक्षा टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेको छ ।
तस्बिर साैजन्य: जिल्ला प्रहरी कार्यालय जाजरकोट
