जाजरकोटको नलगाड नगरपालिका-१ र २ को बिचमा पर्ने बौलाह खोलामा आएको बाढीले ठुलो क्षति पुर्याएको छ।
गएराति परेको अविरल वर्षाका कारण उक्त खोलामा बाढी आएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काले बताएका हुन्।
बाढीले वडा नम्बर १ बैरीतालमा बसोबास तथा व्यापार गर्दै आएका स्थानीयको भौतिक संरचनामा क्षति पुर्याएको छ। ८ जनाले व्यवसाय गर्दै आएका घर तथा अस्थायी टहरा बाढीले बगाएको छ।
‘मानवीय क्षति भने केही भएको छैन,’ सूचना अधिकारी खड्काले भने, ‘बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।’
प्रहरीका अनुसार स्थानीय मानबहादुर विकको तीन कोठे टहरा पूर्ण रूपमा बगाएको छ।
बबिता महराको अस्थायी टहरा र किराना पसल, कृष्ण महरको एक कोठे अस्थायी टहरा, मेघराज कुमाईको बोइलर कुखुराको दाना राखेको अस्थायी टहरा, नन्दे महरको कपडा पेल्ने मेसिनसहितको अस्थायी टहरा र बलबहादुर विकको किराना पसल रहेको अस्थायी टहरा बाढीले बगाएको छ।
जनक भण्डारीको अस्थायी टहरामा रहेको फ्रेस हाउस र त्यहाँ रहेका १०० वटा बोइलर कुखुरासमेत बगाएर पूर्ण क्षति पुगेको छ।
यस्तै दले कामीको अस्थायी टहरामा रहेको किराना पसलमा हिलो र पानी पसेर आंशिक क्षति भएको छ। छवि महरको भे १ ह २६३३ नम्बरको अटोमा हिलोपानी पसेर पुरिएको छ।
हिरालाल घर्तीको ग १ त ७२७८ नम्बरको ट्याक्टर माटोले पुरिएर आंशिक क्षति भएको छ। सत्यदेव चनाराको पानीघट्ट पनि बाढीले पूर्ण रूपमा बगाएको छ।
