एक्कासी हावाहुरी चल्दा फेवातालमा फँसेका ११ जनाको सकुशल उद्धार

पोखरामा आाइतबार दिउँसो एक्कासी हावाहुरी चल्दा फेवातालमा फँसेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

फेवातालको बीच भागमा अलपत्र परेका ती व्यक्तिहरुलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो ।

अचानक आएको तीव्र हावाहुरीका कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरु तालको बीच भागमा फसेका थिए । हावाहुरीले बोट नियन्त्रण बाहिर गएपछि उनीहरु गन्तव्यमा पुग्न नसकी जोखिमपूर्ण अवस्थामा अलपत्र परेका हुन् ।

तालमा मानिसहरु फसेको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको टोली घटनास्थलतर्फ परिचालन भएको थियो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक विशाल घमको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेर किनारमा ल्याएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसबारे जानकारी दिँदै सशस्त्र प्रहरीका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले भने, ‘दिउँसो करिब ४ः१५ बजेको समयमा अचानक आएको हावाहुरीले बोटिङ गरिरहेका पर्यटकहरु तालको बीचमा फसेका थिए, उनीहरुलाई हाम्रो टोलीले तत्काल पुगेर उद्धार गरेको हो ।’

उद्धार गरिएकाहरुमा तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ बस्ने १९ वर्षीय सागर भुजेल र २० वर्षीय सुमन चौधरी रहेका छन् । त्यसैगरी पोखरा महानगरपालिका–३३ बागमारा बस्ने २१ वर्षीया सलिना पुनको पनि उद्धार गरिएको छ । म्याग्दी जिल्लाको अन्नपूर्ण–३ बागलुङ बस्ने २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया सन्जिता मगर र १९ वर्षीया रिया मगरलाई पनि सशस्त्र प्रहरीले सुरक्षित रूपमा बाहिर ल्याएको छ ।

नेपाली नागरिकका साथै भारतको नयाँ दिल्ली घर बताउने तीन जना पर्यटकको पनि उद्धार गरिएको छ । उद्धार गरिएका विदेशी नागरिकमा २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडब रहेका छन् । अचानकको प्राकृतिक विपत्तिका कारण जोखिममा परेका स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सशस्त्र प्रहरीले समयमै फेला पारी उद्धार गर्न सफल भएको हो ।

सशस्त्र प्रहरीले फेवातालमा हुने सम्भावित दुर्घटना र जोखिमलाई ध्यानमा राख्दै रेस्क्यु टावर स्थापना गरेर उद्धार टोली परिचालन गर्दै आएको छ ।

यस घटनामा संलग्न सबै व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई उद्धारपछि गन्तव्यतर्फ पठाइएको डिएसपी थापाले बताए । तालमा हुने यस्ता गतिविधिमा मौसमको ख्याल गर्न र सुरक्षा सतर्कता अपनाउन पनि प्रहरीले आग्रह गरेको छ ।

Scroll to Top