पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २२ स्थित रानीवनको जंगलमा शनिबार साँझ बाटो बिराएर अलपत्र परेका दुई किशोरलाई प्रहरीले उद्धार गरेको छ ।

जिल्लाको पोखरा १७ बिरौटा बस्ने १६ वर्षका दिप दर्शन खाण र १७ वर्षका सुगम शाही ठकुरी जंगलमा अलपत्र परेका थिए । उनीहरु साँझको समयमा हिँड्न अर्थात् इभिनिङ वाक भनी जंगलतर्फ गएका थिए ।

उनीहरु बाटो भुलेर अलपत्र परेको सूचना प्राप्त भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।

१९ भदौ २०८३ का दिन साँझ करिब ७ बजेर १० मिनेटको समयमा उनीहरु रानीवनको जंगल पुगेका थिए ।

जंगलभित्र पुगेपछि बाटो नभेटाएर उनीहरु निस्कन नसकी अलपत्र परेको जानकारी प्रहरीले पाएको थियो ।

उक्त सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

प्रहरी टोलीले रानीवनको जंगलमा खोजी गर्दा सोही दिन राति ८ बजेर २० मिनेटमा दुवै किशोरलाई सकुशल फेला पारेको थियो । प्रहरीले उनीहरुलाई जंगलबाट उद्धार गरी वडा प्रहरी कार्यालय बैदाममा ल्याएको थियो । ‘हामी साँझ जंगलतिर घुम्न गएका थियौँ, तर बाटो बिराउँदा निकै समस्या भयो र बाहिर निस्कन सकेनौँ,’ उद्धार गरिएका किशोरले भने ।

Exit mobile version