पोखरामा अफलाइन ‘पठाओ’ र ‘इनड्राइभ’ गर्ने १३ जना पक्राउ

 पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा पठाओ तथा इनड्राइभमा आबद्ध भई वा नभई अफलाइन मोटरसाइकल चलाउने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा असुलेर ठगी गरेको र अनावश्यक दुःख तथा हैरानी दिएको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ आलुमाइला चोक बस्ने ३२ वर्षीय बिष्णु बहादुर नेपाली, पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटन बस्ने ३६ वर्षीय राजन परियार, वडा नम्बर १३ गौडाको मुख बस्ने ४६ वर्षीय लिल बहादुर गुरुङ र वडा नम्बर २१ निर्मलपोखरी बस्ने २२ वर्षीय प्रबिण थापा रहेका छन् ।

त्यसैगरी तनहुँ घर भई पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा बस्ने ३१ वर्षीय नवीन थापा, पोखरा महानगरपालिका वडा नम्बर १५ रामबजार बस्ने ४६ वर्षीय दीपक कुमार गुरुङ, वडा नम्बर १४ रामबजार बस्ने ५४ वर्षीय अम्मर बहादुर महतरा र कास्की रुपा गाउँपालिका वडा नम्बर ७ बस्ने ३२ वर्षीय माधव कुईकेल पनि पक्राउ परेका छन् ।

पक्राउ पर्ने अन्यमा कास्की मादी गाउँपालिका वडा नम्बर ७ बस्ने ३३ वर्षीय बुद्धि बहादुर विक, पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा बस्ने ३० वर्षीय बिक्की लामा, तनहुँ भानु नगरपालिका वडा नम्बर ७ बस्ने ४० वर्षीय कृष्ण कुमाल, गोरखा घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १३ बस्ने ३२ वर्षीय मिन बहादुर थापा र पोखरा महानगरपालिका वडा नम्बर १३ बस्ने २३ वर्षीय कृष्ण बहादुर गुरुङ रहेका छन् ।

प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार अफलाइन राइडिङका नाममा यात्रु ठगिने क्रम बढेपछि प्रहरीले सक्रियता बढाएको हो ।

Scroll to Top