तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छन् । आज कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
कर्णाली र पोखराबीचको खेल दिउँसो साढे १२ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुनेछ ।
प्लेअफको सम्भावना बलियो बनाउन कर्णालीलाई आजको खेल महत्वपूर्ण रहेको छ । जारी लिगमा चार खेल खेलिसकेको कर्णालीले दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ ।
यस्तै, समान खेल खेलेको पोखरा अहिलेसम्मका चारवटै खेलमा पराजित छ । पोखरा आज पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
यसअघिका संस्करणलाई हेर्ने हो भने कर्णाली र पोखराबीच दुई खेल भएका छन् । जसमा दुवैले एक–एक खेल जितेका थिए ।
यस्तै, आजै अपराह्न ५ बजे हुने खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । चितवन तेस्रो जितको लक्ष्यमा रहँदा काठमाडौँ चौथो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।
जारी लिगमा चितवनले अहिलेसम्म चार खेलमध्ये दुईमा जित, एकमा हार र एक खेलमा अंक बाँड्दै ५ अंक जोडेको छ । काठमाडौँले भने तीनमा जित र एकमा हार बेहोर्दै ६ अंक बनाएको छ ।
यसअघिका दुई संस्करणमा चितवन र काठमाडौँबीच दुई खेल हुँदा दुवैले एक–एकमा जित निकालेका थिए ।
