एनपीएलमा एभेन्जर्सः ७ खेलमा ४ अंक, स्थान सातौं

नयाँलिपिः जारी नेपाल प्रिमियर लीग (एनपीएल)मा पोखरा एभेन्जर्सले आज सुदूर पश्चिमसँग अन्तीम खेल खेल्दै थियो । यसअघि नै प्ले अफको होडबाट टीम बाहिरिइसके पनि समर्थकहरु उपहारस्वरुप आजको खेल पोखराले जीत्ने विश्वासकासाथ स्टेडियम पुगे पनि अन्ततः त्यसो हुन सकेन ।

दिनको अन्तिम खेलमा टस जीतेर पोखराले फिल्डिङ् रोजेपछि सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिम ओभरमा तीन विकेट गुमाउँदा तीन बल खेल्न बाँकी छदा १४८ रनमा अलआउट भयो।

पोखराका ओपनरद्वय आन्द्रेस गौसले २६ रन र दिनेश खरेलले १५ रन जोड्दै टिमलाई राम्रै सुरुवात दिएपनि अन्य ब्याटरले लक्ष्य प्राप्त गर्न योगदान दिन सकेनन् ।
आजेको जीतबाट सुदूर १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। १० अंक नै जोडेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगिसकेको छ।

८ अंक बटुलेको तेस्रो स्थानको चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेको छ।

अब सोमबार कर्णाली याक्स र सुदूरपश्चिमबीच हुने लिगको अन्तिम खेलबाट प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ। कर्णालीले ठूलो अन्तरले पराजय भोगेको अवस्थामा काठमाडौं गुर्खाज प्लेअफमा पुग्नेछ।

प्रतिस्पर्धात्मक हार ब्यहोरे पनि कर्णालीले प्लेअफमा स्थान पक्का गर्दा काठमाडौं बाहिरिनेछ। सुदूरपश्चिम र कर्णालीबीचको खेलले शीर्षदेखि चौथो स्थान हात पार्ने टोलीको स्थान पक्का हुनेछ। जसमा चितवन शीर्ष दुईमा नपर्ने पक्का भएको हुँदा उसले इलिमिनेटर खेल्नु पर्नेछ।

यसबीच, पोखराले कूल ७ खेल खेल्दै मात्र ४ अंक जोड्दै तालिकाको सातौं स्थानमा रहेर लीग टुंग्याएको छ ।

Exit mobile version