त्रिविमा एकैपटक ८ डीन नियुक्त

पोखराः त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले ८ डीन नियुक्त गरेको छ । परिषद्ले शनिबार ८ डीन नियुक्त गरेको रजिस्ट्रार केदारप्रसाद रिजालले जानकारी दिए ।

‘कार्यविधिको आधारमा नियुक्त गरिएको छ । तीन जनामध्ये एक जना छान्ने विधि प्रयोग गरियो,’ उनले भने । सर्वसम्मतिले डीन नियुक्त गरिएको उनले बताए । उनका अनुसार दोस्रो पटक डीन नदोहो¥याउने नीति छ ।

परिषद्ले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा मोहनराज शर्मा, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा सुशीलबहादुर बज्राचार्य, व्यवस्थापन संकायमा महानन्द चालिसे, मानविकी तथा सामाजिकशास्त्र संकायमा द्विविनन्द ढकाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा शंकर खनाललाई नियुक्त गरेको छ।

शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) मा राजेन्द्र कुँवर, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा मिनाराज भण्डारी र त्रिवि योजना निर्देशनालयमा लक्ष्मीकान्त शर्मा नियुक्त गरेको छ। नियुक्ति पाएकाहरूलाई आइतबार नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको छ ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो ।

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुस भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।

Exit mobile version