नेपाल प्रिमियर लिगअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएपछि कर्णाली याक्स लिग चरणबाट बाहिरिने पहिलो टोली भएको छ।
कर्णालीलाई पोखरा एभेन्जर्सले ३४ रनले पराजित गर्दै प्लेअफको दौडमा झिनो सम्भावना कायमै राखेको छ । २ अंक मात्र जोडेको कर्णालीले अब अन्तिम खेल जिते पनि प्लेअफमा पुग्न सम्भव छैन ।
४-४ अंक जोडेका पोखरा र चितवन राइनोजले एक आपसमा खेल्न बाँकी छ। जसका कारण यी मध्ये एक टोलीको ६ अंक हुनेछ भने अन्तिम खेलमा जित निकाले पनि कर्णाली बाहिरिनेछ।
सुदूरपश्चिम रोयल्स १० अंक जोडेर प्लेअफ पुगिसकेको छ। दोस्रो स्थानको विराटनगर किंग्स र तेस्रो स्थानको काठमान्डु गोर्खाजको ८-८ अंक छ भने उनीहरू प्लेअफ नजिक छन्।
कर्णालीले ६ खेल खेल्दा २ अंक मात्र छ। उसले १ खेल मात्र जित्दा ५ खेलमा पराजय भोग्यो।
आजको खेलमा जित निकालेको पोखराले पाँच खेलमा दोस्रो जित निकाल्यो भने ४ अंक जोड्यो। अब अन्तिम दुई खेलमा उसले जित निकाले प्लेअफ पुग्ने सम्भावना हुनेछ।
मंगलबार एडम रोसिङटनको शतकको मद्दतमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य दिएको थियो। जुन लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा अलआउट भयो।
