फेवाताल झैं आज आँशु टिलपिल छ पोखरामा …

दिपक के श्रेष्ठ

जारी नेपाल प्रिमियर लीग (एनपीएल)मा पोखरा एभेन्जर्सले जसै चौथो खेल हा¥यो त्यसले लगानीकर्ता र खेलाडीलाई त रुवायो नै समर्थकहरुलाई झनै आँशुको पोखरीमा डुबाएको छ ।

लगातार दोस्रो खेल हारेपछि तेस्रो खेलमा शानदार विजय हात पार्दै कमब्याक गरेपछि समर्थकमा जुन उत्साह छाएको थियो त्यो एकाएक मंगलबार पानीको फोकाझैं फुट्न पुग्यो । कर्णाली याक्सले एभेन्जर्सविरुद्ध ७ विकेटको जीत निकालेपछि सामाजिक सञ्जालमा समर्थकहरुको पीडाले भरिएको छ । हारपछि कल्याण धमला लेख्छन् ‘पोखरालाई हेर्दा आँशुको पोखरी नै बन्छ ।’ उनको प्रतिक्रियाले एनपीएलप्रति दर्शकको रुचि र पोखरेली टीमको हारले पु¥याएको चोटलाई इंगित गर्छ ।

धमलाको भन्दा मर्मस्पर्शी प्रतिक्रिया पोख्दै मदन पौडेलले लेखे ‘फेवाताल झैं आज आँशु टिलपिल छ पोखरामा ।’ कर्णाली याक्स पछि धेरै फ्यान कमाएको एभेन्जर्सले सुरुवाति क्षणमा जुन चर्चा कमाएको छ अहिले पनि उस्तै छ तर फरक गतिमा । एभेन्जर्सको पेजमा दिइएका कमेन्टले टीम क्याप्टेनमाथि रोष पोखेका छन् । क्याप्टेन कुशल भुर्तेलको खेल शैलीले समर्थकको मुहारमा खुशी पोख्न नसकेको प्रष्टिन्छ ।

कर्माले त भुर्तेलको स्थानमा सचिनका बुवा कलौतेलाई टीममा राख्नुपर्ने सम्म भ्याएका छन् । यस खेलमा एभेन्जर्सले १ सय ६ रन हानेर कम स्कोरको रेकर्ड राखेको थियो भने १ ओभर बलिङ गरी १४ रन दिए । अघिल्लो खेलमा दिनेश खरेल र आन्द्रे गाउसको प्रदर्शनमा जीत निकालेको एभेन्जर्सले चौथो खेलमा उनै ओपनर जोडी आउट भएपछि सोहीस्तरको खेल पस्कन नसक्दा हार व्यहोरेको हो । कर्णाली याक्ससँग भुर्तेल केवल १० रनमै आउट भए भने यसअघिको उनको प्रदर्शन झनै बिर्सन लायक थियो ।

लीगमा प्लेअफको दौडबाट लगभग बाहिरिसकेको पोखराको यही प्रदर्शनलाई हेरेर होला बिकी भुजेल लेख्छन् ‘यस्तै खेलले गर्दा मैले पोखराबाट घर बेचेर अन्तै सर्ने विचार गरे ।’ त्यस्तै, अर्का समर्थक पुर्ण परियार लेख्छन् ‘अब जर्सी किचन सफा गर्ने बनाउँछु, हाम्रो नाकै भाँचिसके ।’ आफ्नो टिम भन्न पनि लाज लागेको दीपेश सुवेदीको प्रतिक्रिया छ ।

एनपीएलको हालसम्मको अंक तालिकामा ४ खेल खेल्दै एक जीत निकालेर एभेन्जर्स २ अंककासाथ सातौं स्थानमा छ । एभेन्जर्सपछि विराटनर किंग्स समान अंककासाथ तालिकको पुछारमा रहेको छ । हालसम्मको नतीजाअनुसार दुबै टोली प्लेअफ बाहिर परेका छन् ।

त्यस्तै, ४ मा चारै खेल जित्दै जनकपुर बोल्ट्स ८ अंककासाथ शीर्ष स्थानमा छ भने समान खेलमा १ हारपछि सुदूरपश्चिम रोयल्स ६ अंकका साथ दोस्रो स्थानमा छ ।

तालिकको तेस्रो र चौथो स्थानमा चितवन राइनोज र कर्णाली याक्स छन् । लुम्बिन लायन्स र काठमाण्डौं गुर्खाज प्लेअफमा पुग्न संघर्षरत छन् ।

 

Exit mobile version